काठमाण्डौ । व्यवस्थापकीय कमजोरी र लापरबाहीले लगानीकर्ताको आशामाथि तुषारापातसँगै त्यसको प्रतिक्रियाको रुपमा सिटिजन्स बैंक इन्टरनेशनलको सेयर बिक्रीमा चाप परेको छ । लगानीकर्ताहरुले दोश्रो त्रैमाससम्म पर्खिदा समेत बैंकबाट राम्रो वित्तीय विवरण नआएपछि चालु आर्थिक वर्षमा यो बैंकले विगतको तुलनामा खासै राम्रो लाभांश दिन नसक्ने ठहर गर्दै धमाधम सेयर बिक्री गर्न थालेका हुन् । 

बैंकले आइतबार प्रकाशित गरेको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणकै कारण यसको संस्थापक सेयर मूल्यमा एकैदिन ६.२५ प्रतिशतको गिरावट आयो । यो साताको पहिलो कारोबार दिन आइतबार कारोबारमा आएका सबै कम्पनीमध्ये सबैभन्दा बढी गुमाउनेमा पनि यही बैंकका लगानीकर्ता अग्रपंक्तिमा देखिए । यो बैंकको साधारण सेयरको भाउमा समेत गिरावट आएको छ । बुधबारसम्म अधिकतम प्रतिकित्ता २८३ रुपैयाँमा बिक्री भइरहेको यो बैंकको साधारण सेयरको भाउ घटेर आइतबार २७८ मा सीमित बन्न पुग्यो । 

त्यसो त आइतबार समग्र बजार परिसूचक समेत उत्साहप्रद रहेन । यो दिन नेप्से परिसूचक ३.८५ अंकले घटेर १४०२.६७ को विन्दूमा समेटिएको छ । तर, कारोबार रकम पनि ५० करोड माथि पुगेको छ । कारोबार रकमलाई बढाउन ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको महत्वपूर्ण योगदान रह्यो । यो दिन यो बैंकको ९ करोड ३४ लाख बढीको संस्थापक सेयर किनबेच भयो । 

यो दिन ५ समूहको सूचकमा रातो पोतियो भने अन्य ५ समूहको सूचक भने बढ्यो । बैकिंग समूह २.५७ अंकले घट्दा बिमा समूह ७५.९९, विकास बैंक समूह ५.१, माइक्रोफाइनान्स समूह १२.१७ र जलविद्युत समूह ७.०८ अंकले घट्न पुगे । 

यस्तै, होटल समूहमा २५.३३, बित्त समूहमा २.३२, उत्पादनमूलकमा ३०.९७, व्यापारिक समूहमा २.०२ र अन्य समूहमा १.७६ अंकको बढोत्तरी भयो ।

'क' वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आउँदा सेन्सेटिभ इण्डेक्स ०.७६ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३५ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कुल १६५ कम्पनीका १६ लाख ७६ हजार १ सय १६ कित्ता सेयर ५० करोड ६१ लख ४२ हजार ८ सय ५६ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको ९ करोड ३४ लाख बढीको संस्थापक सेयर खरीदबिक्री भयो । यस्तै, सानिमा माइ हाइडोले ५ करोड ६४ लाख, एशियन लाइफ इन्स्योरेन्सले २ करोड ५२ लाख, फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले १ करोड ७० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड ५१ लाख, नेपाल ग्रामीण विकास बैंकले १ करोड ४४ लाख, नेको इन्स्योरेन्सले १ करोड ३८ लाख बढीको कारोबार गरे । यस्तै, नवील बैंकले १ करोड २४ लाख, सानिमा बैंकले १ करोड १८ लाख बढीको कारोबार गर्यो । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, २ स्थान बिमा कम्पनी, २ स्थान जलविद्युत कम्पनी र २ स्थान माइक्रोफाइनान्स समूहले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी साना किसान विकास बैंकका लगानीकर्ताले कमाए । यो बैंकको सेयर मूल्यमा २.६५ प्रतिशतको बढोत्तरी भयो । ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको मूल्य समेत २.२९ प्रतिशतले बढ्यो । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्था, गोर्खाज फाइनान्स, लक्ष्मी इक्वीटी फण्ड, कुबेर मर्चेन्ट फाइनान्स र युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्यमा २ प्रतिशत भन्दा बढीको बढोत्तरी भयो । 

यो दिन सिटिजन बैंकका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । उनीहरुको सेयर मूल्यमा ६.२५ प्रतिशतको गिरावट आयो । नेको इन्स्योरेन्स र आरएसडिसी लघुवित्तको सेयर मूल्य साढे ५ प्रतिशतको हाराहारीमा घट्न पुग्यो ।