काठमाण्डौ । सीबीआइएल क्यापिटल लिमीटेडले संचालन गर्न लागेको पहिलो सामूहिक लगानीकोष सिटिजन्स म्युचुअल फण्डमा फेरि पनि मागे जति आवेदन परेन । 

फण्ड संचालक सीबीआइएल क्यापिटल लिमीटेडका व्यवस्थापन तहमा रहेकाहरुको कमजोर व्यवस्थापन, उनीहरुको विवादास्पद छवि लगायतका कारणले लगानीकर्ता उसको पहिलो म्युचुअल फण्डमा लगानी गर्न डराएका हुन् । 

यो फण्डको १० करोड इकाईहरुको माघ २ गतेदेखि बिक्री खुलाइएको थियो । माघ ८ गतेसम्म आवेदन दिनसकिने भनी प्रारम्भिक समयसीमा तोकिएको थियो । सो अवधिमा अत्यन्त न्यून लगानीकर्ताले मात्र इकाई खरीदका लागि आवेदन दिएपछि क्यापिटलले आवेदन दिने मिति बढाएर माघ १७ गतेसम्म पुर्याएको थियो । 

तर, अधिकतम मिति भनिएको माघ १७ गतेसम्ममा पनि १ अर्बको फण्डमा मुश्किलले ७० करोडसम्मको आवेदन समेत नपरेको क्यापिटलस्थित स्रोतले जनाएको छ । 

हालसम्मको म्युचुअल फण्डमध्ये सार्वजनिक निश्कासनमा बिजोग अवस्था भएपछि सीबीआइएल क्यापिटलले इकाई खरीदका लागि आवेदन दिने मितिलाई तन्काएर फागुन ३ गते पुर्याएको छ । यसको अर्थ यो स्किममा लगानी गर्न चाहनेहरुले फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।