काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको रु. २ अर्ब ५० करोडबराबरको ऋणपत्र “१०.२५५ सिटिजन्स बैंक ऋणपत्र २०८६” मा खरिद आवेदन दिने आज मंगलबार अन्तिम मौका रहेको छ। 

गत फागुन २० गतेदेखि यो ऋणपत्रको बिक्री खुलाइएको थियो। त्रैमासिक ब्याज भुक्तानी भएको ऋणपत्र १० वर्षको अवधिका लागि निष्काशन गरिएको हो। 

ऋणपत्रमा छिटोमा फागुन २३ र ढिलोमा चैत ४ गतेभित्र आवेदन दिइसक्नुपर्ने भनिएको थियो। ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम ९.७० लाख युनिट खरीदका लागि आवेदन दिन सकिनेछ। 
रु.२ अर्ब ५० करोड बराबरको प्रति ऋणपत्र रु.१,००० अंकित मूल्यका  २५ लाख कित्तामध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब ऋणपूँजी रकम (५०,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीका लागि सार्वजनिक गरिएको हो। बाँकी १५ लाख कित्ता ऋणपत्रले हुनआउने कुल रु. १ अर्ब ५० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगततर्फ (प्राइभेट प्लेसमेन्ट) बाट बिक्री गरिनेछ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निश्कासन तथा बिक्री प्रबन्धमा सिटिजन्स बैंकले जारी गरेको  यो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्रा एनपी एलबीबीबी प्लसको रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा सुरक्षित मानिन्छ।