काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत असार ३१ गतेदेखि विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। 

सिटिजन लाइफले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर १ करो १२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ। पहिलो चरणमा कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो। 

कम्पनीले १०० अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। उनीहरुले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार यो आईपीओमा अहिलेसम्म २६ हजार १८० आवेदकबाट कुल १८ लाख ३० हजार ८९० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६३ गुणाले बढी हो।

सिटिजन लाइफको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।