market data
काठमाण्डौ । बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्रक्रियालाई अवरुद्ध गर्ने ब्रोकर तथा नेपाल स्टक एक्सचेञ्जका केही कर्मचारीहरुको गैरकानूनी चलखेलका कारण यो साताको पहिलो कारोबार दिन सोमबार बजारमा अत्यासलाग्दो पहिरो गएको छ ।
बैंकहरुलाई सेयर ब्रोकरको लाइसेन्स दिइए साना लगानीकर्ताहरुको जहाज डूूब्ने जिकिर गर्दै आएका ब्रोकरहरुले बजारमा कायम आफ्नो सिण्डिकेटलाई जोगाउन अनावश्यक चलखेल गरी नेप्सेका कर्मचारीलाई समेत हातमा लिँदा बजारमा पहिरो गएको देखिएको छ ।
लामो समयदेखि सेयर बजारका ब्रोकर, नेप्सेका केही लोभी कर्मचारी र सूचिकृत कम्पनीका उच्च व्यवस्थापनमा रहेका अधिकारीबीचको मिलेमतोमा इन्साइडर टेडिंग र सेटिंगमा बजारलाई प्रभाव पार्ने गैरकानूनी गतिविधि हुँदै आएको थियो । यी पक्षहरुको गैरकानूनी गठजोडकै कारण साना लगानीकर्ताहरु पछिल्लो समय डूूब्ने अवस्थामा पुुगेका छन् भने बजार बढ्ने आशामा बसेका कतिपय लगानीकर्ताहरुको धैर्यताको बाँध पनि टुट्ने अवस्थामा पुुगेको छ ।
ब्रोकर, नेप्सेका कर्मचारी तथा सूचिकृत कम्पनीका कतिपय अधिकारीबीचको मिलेमतोमा फस्टाउँदै आएको सेयरको कालोबजारीका धन्दा पछिल्लो समय नेपाल धितोपत्र बोर्डले थालेको बजार सुधारका कतिपय कामले निश्कर्ष पाउनासाथ बन्द हुने अवस्था छ । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिए बजारमा ब्रोकरहरुका एकाधिकार र सिण्डिकेट तोडिनेछ भने बोर्डले अगाडि बढाएको अनलाइन कारोबारको प्रणाली पूर्ण रुपमा लागू भएपछि ब्रोकरहरुमा निर्भर बन्नुपर्ने लगानीकर्ताको दुर्दिनको अन्त हुनेछ । यी सबै सुधारबाट लगानीकर्तालाई गलत सल्लाह दिएर वा प्रभावमा पारेर करोडौं हात पारिरहेकाहरुको कमाईखाने भाँडो बन्द हुने भएपछि सुनियोजित ढंगले बजारलाई तल झार्ने र आफ्ना मुद्धामा लगानीकर्ताको भावनालाई गलत ढंगले प्रयोग गर्ने ब्रोकरहरुको दाउ बुुझ्न सकिन्छ । यी सबै दाउ पूरा गर्नकै लागि उनीहरुले बजारलाई नियोजित ढंगले घटाइरहेका हुन् । यसबाट सबैभन्दा ठूलो मार साना तथा नयाँ लगानीकर्ताहरुलाई परेको छ ।
ब्रोकर र नेप्सका कर्मचारीको यो मिलेमतोसँगै आगामी दिनमा बजार अझै घट्नसक्ने अन्य आधारहरु पनि तयार भएका छन् । बैंकहरुले मुद्धती निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर पुर्याएपछि लगानीको सुनिश्चित रिटर्नका लागि सेयर बेचेर पैसा बैंकमा राख्ने लगानीकर्ताहरु पनि बढेका छन् । पछिल्लो समय सेयर बजार घटिरहनुमा अन्य कारण पनि छन् । (यो समाचार पढ्नुहोस्) ।
चरम निराशा
सोमबार बजारमा चरम निराशा देखियो । सबै समूहको सूचकमा रातो पोतियो । नेप्से परिसूचक ४२.८४ अंकले घटी १४३२.५७ अंकमा झर्यो । ६ समूहको सूचकमा २ प्रतिशत बढीको गिरावट आयो । विमा समूहमा सबैभन्दा बढी साढे ४ प्रतिशतको हाराहारीमा गिरावट देखियो ।
अन्य बेला बजारलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्ने बिमा समूह एकैदिन ३११.०१ अंकले घट्यो । यस्तै वाणिज्य बैंक पनि ४०.८६ अंकले ओरालो लाग्यो । विकास बैंक, बित्त कम्पनी, जलविद्युत समूह, होटल र अन्य समूहमा क्रमशः ३३.१९, १९.९४, ४४.१६, ३७.०५ र १८.८ अंकको पहिरो गयो ।
सोमबार सेन्सेटिभ इण्डेक्स ९.५५ र फ्लोट इण्डेक्समा ३.२१ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
सोमबार गत बिहीबारको तुलनामा २ करोड कमको सेयर किनबेच भयो । १३० कम्पनीका १५ लाख ५० हजार २ सय ५५ कित्ता सेयर ४८ करोड १२ लाख रुपैयाँमा किनबेच भयो ।
वाणिज्य बैंकहरुले २३ करोड बढीको सेयर कारोबार गरे । यस्तै, बिमा कम्पनीहरुले १२ करोड ४६ लाख, विकास बैंकहरुले ७ करोड १४ लाखको कारोबार गरे ।
कम्पनीगत हिसाबले सबैभन्दा बढी एभरेष्ट बैंकले ३ करोड ५४ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड ३७ लाख, नेको इन्स्योरेन्सले २ करोड ३४ लाख, सिद्धार्थ बैंकले १ करोड ९६ लाख, नेपाल बंगलादेश बैंकले १ करोड ७५ लाखको कारोबार गरे । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा वाणिज्य बैंक, एक स्थानमा विकास बैंक र बाँकी ४ स्थानमा विमा कम्पनीहरुको कब्जा रह्यो ।
धेरै कमाउने र गुमाउने कम्पनी
बजारमा अत्यासलाग्दो पहिरो जाँदा पनि दुुई कम्पनीका लगानीकर्ता भने मालामाल भए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सोमबार ०.२५ प्रतिशतदेखि १० प्रतिशतसम्म कमाउनेमा १३ कम्पनी मात्र समेटिए । बाँकी सबै कम्पनीले गुमाउन पर्यो ।
अर्कोतर्फ, १० प्रतिशतकै हाराहारीमा सम्पत्ति गुमाउनेमा ४ कम्पनी देखिए । नागबेली लघुवित्त विकास बैंक, कर्णाली विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुुगे । प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ८.४४ प्रतिशतले घट्यो ।
यस्तै ८ कम्पनीको सेयर मूल्यमा ७ देखि ८ प्रतिशतको हाराहारीमा गिरावट आयो । ४ कम्पनीको सेयर मूल्य ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म, ६ कम्पनीको सेयर मूल्य ५ देखि ६ प्रतिशतको दरले घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago