काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक लिमिटेडलाई ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ।

बोर्डले गत असोज १ गते सिद्धार्थ बैंकलाई १ हजार रुपैयाँ दरका ३० लाख इकाइ ऋणपत्र निष्कासनको अनुमति दिएको हो। बैंकले निष्कासन गर्न लागेको ३० लाख इकाइमध्ये १२ लाख इकाइ सर्वसाधारणका लागि र १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। 

सातवर्षे यो एसबीएल डिबेन्चेर २०८४ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। ऋणपत्रको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड छ।

यसैगरी ग्लोबल आईएमई बैंकले पनि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा गत भदौ २९ गते निवेदन दर्ता गरेको छ। 

ग्लोबल आईएमई बैंकले १० वर्षका लागि ८.५ प्रतिशत ब्याजदरमा २०८६÷८७ नामक डिबेन्चर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो। 

बैंकले निष्कासन गर्ने १ हजार रुपैयाँअंकित दरका कुल ३० लाख इकाइ ऋणपत्रमध्ये १२ लाख इकाइ सर्वसाधारणलाई र १८ लाख इकाइ व्यक्तिगत तवरमा निष्कासन गर्नेछ। 

ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा बैंकले सेन्चुरी क्यापिटललाई नियुक्त गरेको छ।