काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज असार २९ गते काठमाण्डौको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. ५ लाख ६ हजार २५० आर्थिक सहयोग प्रदान गरेको छ। 

उक्त रकम बैंकका हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई हस्तान्तरण गरेका छन्। 

बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्नेछ। 

उक्त सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भएतापनि चस्मा बिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई सहज रुपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। आगामी दिनमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने बैंकले प्रतिबद्धता गरेको छ।