काठमाण्डौ । मर्जरपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा भोलि मंगलबार सेयर कारोबारमा आउने भएको छ। 

मर्जरपछि साबिक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिन अर्थात भोलिपल्टबाट कारोबारमा आउने गर्छ। 

नेप्सेमा दुवै कम्पनीको कुल १ करोड ८० लाख ६५ हजार ४९९ कित्ता सेयर सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाममा सूचीकृत भएको छ। यी दुवै कम्पनी १ः१ सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्।

नेप्सेले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘एसपीआईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले प्रतिकित्ता ६३७.६१ रुपैयाँ तोकेको छ। अर्थात भोलिबाट यो कम्पनीको सेयर उक्त मूल्यबाट कारोबार सुरु हुनेछ।