काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमीटेडले व्यवस्थापन गरेको पहिलो म्युचुअल फण्ड ‘सिद्धार्थ लगानी वृद्धि योजना–१’(सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम वान)का इकाईधनीहरुलाई रकम फिर्ता भुक्तानीका लागि बोलाइएको छ । 

सिद्धार्थ क्यापिटल लिमीटेडले मंगलबार एक सूचना प्रकाशित गरी सिद्धार्थ बैंक कोष प्रवद्र्धक रहेको सिद्धार्थ म्युचुुअल फण्ड अन्तरगत संचालित ‘सिद्धार्थ लगानी वृद्धि योजना–१’ का इकाईधनीहरुलाई फिर्ता भुक्तानी रकम प्रचलित कानून बमोजिम कर कट्टा गरी दिने भन्दै फागुन २५ गतेदेखि लिन बोलाएको हो । 

भौतिक प्रमाणपत्र हुने इकाईधनीहरुले आफ्नो रकम फिर्ता लिन सिद्धार्थ क्यापिटलको काठमाण्डौ नक्साल(नारायणचौर)स्थित मुख्य कार्यालय पुुग्नुपर्नेछ भने डिम्याट होल्डर इकाईधनीहरुको खातामै रकम आउनेछ । 

यो स्किम २०७४ पुस ९ गते परिपक्व भएको थियो । परिपक्व भएको अढाई महिनापछि इकाईधनीलाई रकम फिर्ताका लागि बोलाइएको हो । 

यो स्किम निश्कासन गर्दाको बेला फिर्ता भुक्तानी लिन बाँकी रहेको रकम तथा योजनाले विगतका आर्थिक वर्षमा वितरण गरेको तर, इकाईधनीले नलगेको लाभांश रकम समेत फिर्ता भुक्तानी रकममा जोडी फिर्ता गरिने व्यवस्था मिलाइएको बताइएको छ । 

भौतिक रुपमा इकाई भएका र डिम्याट होल्डर भएका इकाईधनीहरुले निम्न लिखित तालिका अनुसार रकम फिर्ता पाउनेछन्:

यसैबीच, सिद्धार्थ क्यापिटलले रकम फिर्ताका लागि आवश्यक केही महत्वपूर्ण जानकारी समेत सार्वजनिक गरेको छ । जसअनुसार इकाई प्रमाणपत्रको अभौतिकीकरण नगरेका इकाईधनीहरुले रकम फिर्ता लिन आउँदा सो सक्कल प्रमाणपत्र लिई आउनुपर्नेछ । यस्तै, रकम फिर्ता लिन जाने इकाईधनीले आफ्नो इकाई प्रमाणपत्रको प्रतिलिपि वा परिचय खुल्ने अन्य कागजात वा नागरिकताको प्रतिलिपि वा हितग्राही परिचयपत्र नम्बर अनिवार्य रुपमा लिएर जानुपर्नेछ । अन्य नियम यस्ता छन्:

कति पाउने भए रिटर्न ?
यो सामूहिक लगानी कोष नियमावली २०६७ जारी भएपछिको देशकै पहिलो म्युचुुअल फण्ड हो । नेपालकै पहिलो म्युुचुुअल फण्डको रुपमा आएको यो स्किम पाँचवर्षे बन्दमुखी फण्ड हो । ५० करोड रुपैयाँको यो स्किमले १० रुपैयाँ दरका इकाईहरु बिक्री गरी सर्वसाधारणबाट लगानी जुटाएको थियो । 

पाँच वर्षको अवधिमा यो स्किमले इकाइधनीहरुलाई औसतमा वार्षिक ४८.४ प्रतिशतको दरले रिटर्न दिएको फण्ड संचालक सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडका सीओओ चन्दन कार्कीले बताए । उनका अनुसार यो स्किमका इकाईधनीहरुलाई प्रति इकाई करिब २१.७७ रुपैयाँको दरले रकम फिर्ता पाउनेछन् । 

गएको चार वर्षको अवधिमा स्किमले इकाईधनीहरुलाई नगद लाभांशको रुपमा १२४.५० प्रतिशत रिटर्न दिएको छ । इकाईतर्फ बढेको मूल्यमा हिसाब गर्दा लगानीकर्ताले ११० प्रतिशत रिटर्न जाँदा जाँदै पाउनेछन् । यी सबै खालका रिटर्न हिसाब गर्दा वार्षिक ४८.४ प्रतिशत रिटर्न पाउने कार्कीले बताए ।

अहिलेको प्रावधान अनुसार यस्ता फण्ड परिपक्व भएको ३ महिनाभित्र इकाइधनीको रकम फिर्ता गरिसक्नुुपर्ने थियो । 

देशकै पहिलो म्युचुुअल फण्ड सफलतापूर्वक संचालन गरेको सिद्धार्थ क्यापिटलले अहिले पनि २ वटा यस्ता स्किमहरु संचालन गरिरहेको छ, तीमध्ये एउटा नयाँ स्किम हो । 

हालसम्म देशमा खुल्लामुखी सामूहिक लगानीकोष भने कुनै पनि कम्पनीले सुरुवात गरेका छैनन् ।