काठमाण्डौ । अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ। 

नेपाल दूरसञ्चार प्राधिकरणले अब सिमकार्ड लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न लागेको हो। योसँगै सिमकार्ड लिन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति मिल्नेछ। 

अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा एक व्यक्तिलाई एउटा मोबाइल सेवा प्रदायकबाट बढीमा दुई वटासम्म सिमकार्ड लिने व्यवस्था मिलाइने प्राधिकरणले जनाएको छ। यसका लागि प्राधिकरणले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सिस्टमसँग प्राधिकरणको सिस्टम र एमडीएमएसलाई जोड्न लागेको छ। 

अब सिमकार्ड लिन आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर भन्नुपर्ने र त्यही नम्बर राखेर मोबाइल सेवा प्रदायकले सिमकार्ड दिन मिल्ने वा नमिल्ने प्रारम्भिक निर्णय गर्ने प्राधिकरणले जनाएको छ। सिमकार्ड दिन मिल्ने भएमा त्यसको जानकारी एमडीएमएसमा आउनेछ।

प्राधिकरणले आगामी मंसिर १ गतेबाट पूर्ण रुपमा एमडीएमएस प्रणाली कार्यान्वयनमा लैजाने तयारी गरेको छ।