काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन अवधि १५ दिन थप गरेको छ ।

कम्पनीले गत असोज १७ गतेदेखि २७ करोड ६४ लाख ६९ हजार २०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री खुलाएको थियो । हकप्रद सेयर गर्ने अन्तिम म्याद बिहीबार (कात्तिक २१ गते) सम्म तोकिएको थियो । तोकिएको मितिसम्म पनि हकप्रद सेयर पूर्ण रुपमा बिक्री नभएपछि कम्पनीले निष्कासन अवधि थप गरेको हो । अब कम्पनीका सेयरधनीहरुले मंसिर ६ गतेसम्म हकप्रद सेयर सुरक्षित गर्न सक्नेछन्।

नेपाल धितोपत्र बोर्डबाट गत साउन २० गते स्वीकृति प्राप्त गरेपछि संस्थाले रु १०० अंकित दरका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयरको बिक्री खुलाएको हो । संस्थाले हाल कायम चुक्तापुँजी ४६ करोड ७ लाख ८२ हजार रुपैयाँ १० सेयरबराबर ६ सेयर (१०:६) को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

गत असोज ५ गतेसम्म सेयरधनी कायम भएकाहरुले मात्र हकप्रद सेयर खरिद गर्न पाउने छन् ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड तोकिएको छ । सेयरधनीहरुले सनराइज क्यापिटल लिमिटेडको कमलपोखरीस्थित कार्यालय, सिर्जना फाइनान्सको विराटनगर केन्द्रीय कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरु र सनराइज बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगन्ज र बुटवलबाट सेयर खरिद आवेदन दिन सक्छन् ।

त्यस्तै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट पनि सेयर खरिदको आवेदन दिन सकिनेछ ।