काठमाण्डौ । मर्जरपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि सोमबारबाट कारोबारमा आउने भएको छ। 

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्तबीचको मर्जरपछि सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट सेयर कारोबारमा आउन लागेको हो। यी दुवै लघुवित्तले मर्जर प्रक्रिया पूरा गरी गत फागुन ३० गतेबाट एकीकृत कारोबार पनि सुरु गरिसकेका छन्। 

सिवाईसी नेपाल लघुवित्त र आँधिखोला लघुवित्त १ः०.७० सेयर स्वाप रेसियोमा मर्ज भएका हुन्। मर्जरपछि कुल १० लाख ८२ हजार ९०० कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

नेप्सेले मर्जर प्रक्रियाका लागि रोक्का गरेको सिवाईसी नेपाल लघुवित्तको सेयर कारोबार आज असार १७ गतेको निर्णयबमोजिम फुकुवा गरेको छ। 

मर्जरपछिको पहिलो कारोबारका लागि नेप्सेले सिवाईसी नेपाल लघुवित्तलाई प्रतिकित्ता ११७१.८५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। अब यही मूल्यबाट यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।