काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा निष्कासनको अन्तिम दिन (वैशाख ६ गते) साँझसम्म झन्डै ७० गुणाले ओभरसब्सक्राइब्ड भएको छ। 

संस्थाले गत वैशाख २ गतेबाट चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको हो। 

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन खुला गरिएको थियो। सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २२ लाख ७७ हजार ७४३ आवेदकले २ करोड ५६ लाख ८८ हजार ४५० कित्ता खरिदका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ६९.५२ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ९ गते निष्कासनको अनुमति दिएको थियो। धितोपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।