काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बिहीबार बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान ९ बजे सिवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा राखिएको थियो।

यो लघुवित्तले गत वैशाख २ गतेदेखि ६ गतेसम्म चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको थियो। 

कुल कित्तामध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ८२ कित्ता सेयर कर्मचारीमा र ५ प्रतिशतले हुन आउने १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषमा बाँडफाँड गरी बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

यो आईपीओमा २२ लाख ५ हजार ६३३ आवेदकले २ करोड ४५ लाख २० हजार १४० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। तीमध्ये २२ लाख २ हजार ३६१ आवेदकबाट परेको २ करोड ४४ लाख ८३ हजार ६५० कित्ता सदर भएको थियो। बाँकी ३ हजार २७२ आवेदकबाट परेको ३६ हजार ४९० कित्ता बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसअनुसार सदर आवेदकमध्ये भाग्यमानी ३६ हजार ९४८ जना १० कित्ताका दरले सेयर पाएका छन्। तिनै सेयर पाउनेमध्ये २० कित्ताभन्दा बढी सेयर खरिदका लागि आवेदन दिनेमध्ये ८ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। 

यो आईपीओमा २१ लाख ६५ हजार ४१३ जना आवेदकको हात खाली भएको छ। 

यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरिने क्यापिटलले जनाएको छ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, सीडीएससीको मेरो सेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ। 

सिवाईसी नेपाल लघुवित्तको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत ९ गते निष्कासनको अनुमति दिएको थियो।