– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयर बजारमा अल्पकालीन र दीर्घकालीन गरी दुई थरिका लगानीकर्ता हुन्छन्। कसैले छोटो समयका लागि सेयर खरिद गरेका हुन्छन् भने कसैले सानो रकमको सेयर दीर्घकालीन समयका लागि सेयर खरिद गरेका हुन्छन्। 

सेयर बजारमा कमाउनकै लागि धेरै कित्ता आवश्यक पर्दैन। राम्रा कम्पनीको १० कित्ता सेयर नै राम्रो कमाइको स्रोत बन्न सक्छ। किनकि त्यस्ता कम्पनीले दिने हकप्रद र बोनस सेयरले लगानीकर्ताहरु भविष्यमा मालामाल बन्न पुग्छन्। 

अन्तर्राष्ट्रिय बजारमा बर्कसायर हाथवे कम्पनीको सेयर अहिले लाखौँ डलरमा कारोबार भइरहेको छ। नेपालमा पनि युनिलिभर नेपालको सेयर अहिले प्रतिकित्ता ३६ हजार रुपैयाँभन्दा माथि कारोबार भइरहेको छ। 

ब्लुचिप मानिने नागरिक लगानी कोष (सीआईटी)को सेयरले पनि लगानीकर्तालाई मालामाल बनाइरहेको पाइन्छ। इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) मा भेटिएका पुराना लगानीकर्ता अच्युतप्रसाद हुमागाईंले २०४७ सालमा प्राथमिक बजारबाट जम्मा ६०० रुपैयाँको सीआईटीको सेयर किनेका थिए। अहिले उनीसँग सीआईटीको ५ हजार कित्ता सेयर छ। उनले अझै पनि बेचेका छैनन्। ‘त्यो बेलादेखिको हरेक वर्षको बोनस सेयर र एकपटक २०७८ सालमा करिब ८३ प्रतिशत हकप्रद सेयर गरी करिब ४ हजार कित्ता पुगेको छ र पछि फेरि घटेको बेला १ हजार कित्ता दोस्रो बजारबाट उठाएँ’, उनले भने। 

अहिलेको बजारमूल्यअनुसार हुमगाईंसँग सीआईटीको मात्रै करिब १ करोड रुपैयाँबराबरको सेयर छ। ‘बजारमा राम्रो प्रतिफल दिने कम्पनीको सेयर भएको खण्डमा धेरै कित्ता पनि आवश्य पर्दैन’, हुमागाईं भन्छन्। 

सरकारी सेवाको अधिकृतबाट रिटायर्ड हुमगाईं हाल ब्रोकर हाउसमा आफ्ना सेयर बजार र जागिरे जीवनका अनुभवहरु साटासाट गरेर बिताउँछन्। भक्तपुरको दुवाकोटका स्थायी बासिन्दा हुमागाईं ब्रोकर हाउसमा दैनिकजसो आउँछन्। जोशिला, भलाद्मी र परिपक्क लगानीकर्ता हुमागाईंले केही वर्षपहिले गोर्खाज फाइनान्सको सेयर प्रतिकित्ता १०० रुपैयाँमा खरिद गरेका थिए। यो कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४६० रुपैयाँ पुग्दा पनि बेच्न नसेकेकोमा हुमगाईंलाई पछुतो छ। ‘पछि मैले प्रतिकित्ता १ हजार २०० रुपैयाँमा बेचेँ’, उनले भने। 

हाल आफूसँग साना किसान विकास लघुवित्त, आरबीसीएल, नबिल बैंक र अन्य बैंकको गरी करिब ३ करोड रुपैयाँको पोर्टफोलियो रहेको हुमागाईं सुनाउँछन्। 

बैंकका सेयरहरुबाट धेरै नोक्सानी नभएको हुमगाईंको अनुभव छ। ‘घर खर्च पेन्सनबाट चल्ने भएकोले मैले खासै सेयर बेच्नु परेको छैन’, उनले भने। 
हुमागाईंको विचारमा ऋण लिएर सेयर खरिद गर्न भने हुँदैन। ‘किनकि बजार घटेको बेला बैंकको ब्याजले निकै तनाव दिन्छ’, उनले भने।