काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक निश्कासनको केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धी संचालन निर्देशिका २०७४ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निश्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सीआस्वामार्फत हुनुपर्ने व्यवस्था गर्दैछ । 

यो व्यवस्था अनुसार सेवाग्राहीलाई चुस्त सेवा दिन बैंक तथा बित्तीय संस्थाहरुले समेत सीआस्वा सेवा प्रवाहका लागि धमाधम सूचना प्रकाशित गरिरहेका छन् । उनीहरुले बैंकका खातावाल तथा लगानीकर्तालाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरिरहेका हुन् । 

यो क्रममा बिहीबार नेपाल बंगलादेश बैंक, कैलाश विकास बैंकले समेत सीआस्वा सम्बन्धी सूचना प्रकाशित गरेका छन् । 

यसअघि नवील, कृषि विकास बैंक, देवः विकास बैंक, एनआइसी एशिया बंैक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू लगायतले समेत छुट्टाछुट्टै सूचनामार्फत खातावाललाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरिसकेका छन् । प्राय सबै बैंकहरुले यो सेवा संचालन गरेकाले खातावाल र लगानीकर्ताले समयमै सीआस्वामा दर्ता हुनुु उत्तम हुनेछ । 

यी अधिकांश बैंकहरुले सबै लगानीकर्तालाई नजिकको शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो विवरण अद्यावधिक गराई सीआस्वा रजिष्ट्रेसन सम्बन्धी व्यवस्था बमोजिम सिआरएन नम्बर लिन समेत आग्रह गरेका छन् ।

सीआस्वामा एकपटक दर्ता भइसकेका लगानीकर्ताले मेरो सेयर सेवामार्फत घरमै बसेर इन्टरनेटको माध्यमबाट पनि खरीद आवेदन दिनसक्ने हुँदा अनलाइनमार्फत आवेदन दिन चाहने र यी दुवै बैंकमा डिम्याट खाता भएका लगानीकताहरुलाई समेत मेरो सेयर सेवा लिन आग्रह गरिएको छ ।

कतिपय बैंकहरुले आफ्नो बैंकमार्फत सीआस्वामार्फत सेयरमा आवेदन गर्दा लाग्ने बैंक शुल्क समेत निःशुल्क गरेका छन् भने कतिपयले भने न्यून शुल्क राखेका छन् । यो क्रममा कतिपय बैंकहरुले निःशुल्क डिम्याट खाताको अफर समेत सार्वजनिक गरेका छन् ।