काठमाण्डौ । आइपीओ, एफपीओ र हकप्रद सेयर खरीदका लागि सी-आस्वा प्रणाली अनिवार्य गरिएपछि यसको पहिलो नतिजा कमालको निस्किएको छ । आरम्भ माइक्रोफाइनान्सको आइपीओ निश्कासन बन्द भएको डेढ दिनमै सी-आस्वाका कारण बाँडफाँड गर्ने कमालको सफलता हात परेको हो । सेयर बाँडफाँडको झञ्झटिलो युुग अन्तका लागि यो प्रणाली क्रान्तिकारी पुष्टि भएको छ । 

बुधबार सिडिएस एण्ड क्लियरिङ लिमीटेडले एक कार्यक्रमको आयोजना गरी आरम्भको सेयर बाँडफाँड गरेको हो । 

आरम्भको आइपीओमा देशभरबाट कुल १ लाख ८६ हजार ३८ जनाले आवेदन दिएका थिए । यसमध्ये १ लाख ८५ हजार ६ सय ५३ आवेदन मात्र बैध भएका थिए । यो क्रममा कुल २७ हजार ४८ जनाले आरम्भको आइपीओ पाएका छन् । 

निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले उपलब्ध गराएको अन्तिम तथ्यांक अनुसार २ करोड ९० लाख रुपैयाँ बराबरको आइपीओमा मागभन्दा करिब ४४ प्रतिशत बढी आवेदन परेको थियो । 

आरम्भको आइपीओ फागुन १५ देखि निश्कासन भई २१ गते बन्द भएको थियो । 

काभ्रेपलाञ्चोकको बनेपामा मुख्य कार्यालय रहेको यो कम्पनीले सर्वसाधारण, आफ्ना कर्मचारी र म्युचुुअल फण्डहरुका लागि समेत गरी कुल २ लाख ९४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो ।

एकसय रुपैयाँ दरका कुल निश्कासन हुने कित्तामध्ये ८ हजार ८ सय २० कित्ता आरम्भका कर्मचारीका लागि, १४ हजार ७ सय कित्ता सामूहिक लगानीकोषहरुका लागि र बाँकी २ लाख ७० हजार ४ सय ८० कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

यो कम्पनीको हालको चुक्तापूँजी ३ करोड ६ लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी ६ करोड रुपैयाँ पुुगेको छ ।