काठमाण्डौ । यसै साता धितोपत्र दोस्रो बजारमा कारोबार खुलेको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका संस्थापक र कर्मचारीको सेयर भने अबको ३ वर्षपछि किनबेच गर्न पाइने भएको छ। 

कम्पनीले एक सूचना जारी गर्दै कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर २०८१ वैशाख ३० गतेसम्म लकिङ भएको जानकारी गराएको हो। यसको मतलब २०८१ वैशाख ३० गतेपछि मात्र कम्पनीका संस्थापक र कर्मचारीसँग रहेको सेयर खरिदबिक्री गर्न पाइनेछ।

नेपाल धितोपत्र बोर्डको निर्देशिका धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को व्यवस्थाबमोजिम कम्पनीले लकिङ पिरियड सार्वजनिक गरेको छ। यो नियमावलीको पिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन’ भनी उल्लेख छ। 

यो कम्पनीले पनि गत वैशाख ३१ गते आईपीओ बिक्री गरी बाँडफाड गरेको थियो। सोही कारण अब यो कम्पनीका संस्थापक र कर्मचारीसँग रहेका सेयर अबको ३ वर्षपछि खरिदबिक्री गर्न पाइने भएको हो।