काठमाण्डौ। नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्ष विष्णुकुमार अग्रवालसहितको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ। 

अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो। भेटमा सीएनआईमा आबद्ध उद्योगी अनुज अग्रवालले देशको वर्तमान आर्थिक अवस्थाबारे प्रस्तुति दिँदै विदेशी मुद्राको सञ्चितीमा परेको चापलाई कम गर्ने र तरलता संकटलाई माथी उठाउने दुई मुख्य बिषयमा केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रको सुरुआतमै उनले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नु तर्कसंगत नभएको बताएका थिए। नेपालको कुल ग्राहस्थ उत्पादन ३३.६५ बिलियन डलर र श्रीलंकाको कुल ग्राहस्थ उत्पादन ८०.७ बिलियन डलर रहेको कार्यपत्रमा उल्लेख गरिएको छ। 

त्यस्तै नेपालको वास्तविक ऋण १४.५६ बिलियन डलर र श्रीलंकाको ८९.५ बिलियन डलर रहेको, जीडीपीमा वास्तविक ऋणको हिस्सा नेपालको ४३ प्रतिशत र श्रीलंकाको १११.४२ प्रतिशत रहेको, कुल वैदेशिक मुद्रा सञ्चितीतर्फ नेपालको ९.५८ अर्ब डलर र श्रीलंकाको १.९४ विलियन डलरमात्रै रहेको कार्यपत्रमा उल्लेख छ।  

त्यस्तै अन्तर्राष्ट्रिय मूल्य शृंखलामा परेको प्रभावका कारण नेपालको मुद्रास्फीति ७.१ प्रतिशत र श्रीलंकाको २५ प्रतिशत विन्दुमा पुगेको कार्यपत्रमा जनाइएको छ। 

अर्थतन्त्रको परिदृश्य देखाउने मुख्य–मख्य सूचकांकमा नेपालको अर्थतन्त्र श्रीलंकाको भन्दा धेरे मजबुत रहेको अग्रवालले बताए। 

भेटमा सीएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले विदेशी मुद्राको सञ्चितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिबन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिए। उनले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक–फरक बनाउन पनि सुझाव दिए। 

आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको उल्लेख गर्दै अग्रवालले पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु धमाधम घोषणा गर्नुपर्नेमा जोड दिए। उनले सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपालीलाई डलरमा खाता खोल्न आकर्षित गर्नुपर्नेलगायतका सुझाव दिए। 

उक्त अवसरमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलनै नहुने कुरा आफुले बारम्बार भन्दै आएको बताए। ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतीकरण गर्न खोजिरहेका छन्। चुनावी मुद्दा पनि बनाएका छन्’, उनले भने, ‘यथार्थमा नेपालको अर्थव्यवस्था श्रीलंकाजस्तो होइन र हामी श्रीलंकाजस्तो हुन पनि नदिने गरी अर्थव्यवस्था सुधारको काम गरिरहेका छौँ।’ 

शर्माले आगामी आब २०७९–८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि दिए। 

नेपाल र श्रीलंकाको अर्थव्यवस्थाबारे तुलनात्मक विवरण