काठमाण्डौ । नेपाल उद्योग परिसंघले सीजी ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

परिसंघले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘हाल मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण एवं गम्भीर अवस्थामा छ। समग्र बजार मागमा आएको उच्च कमीका कारण उद्योगी–व्यवसायीहरु निकै अप्ठ्यारो अवस्थामा छन्। कतिपय उद्योग व्यवसायहरु बन्द भइसकेका छन् भने कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘समग्र बजार मागमा ७० प्रतिशतसम्म कमी आउँदा उद्योगहरु आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत छन्।’

चुनौतीपूर्ण अवस्थाका बाबजुद न्यून क्षमतामा भए पनि उद्योग सञ्चालन गरिरहेको अवस्थामा कर्मचारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउनेजस्ता गतिविधिले कसैलाई फाइदा नगर्नेतर्फ सचेत बन्न परिसंघले अनुरोध गरेको छ। ‘आफ्ना असहमतिहरुलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अगाडि बढाई समाधान खोज्न आग्रह गर्दछौं। अधिकारीहरुमाथि कुटपिट गर्ने, ढुंगामुडा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न र नगराउन परिसंघ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै, सीजी ब्रुअरीका कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेहरुलाई कडा कारबाही गर्नसमेत परिसंघ माग गर्दछ। 

यस्ता गतिविधिहरुलाई निरुत्साहित गरी असल औद्योगिक सम्बन्ध सुनिश्चित गर्न सबै ट्रेड युनियनहरुलाई समेत परिसंघले आह्वान गरेको छ। हालको विषम परिस्थितिले निरुत्साहत बनिसकेको निजी क्षेत्रको मनस्थितिलाई यस्ता घटनाले थप हतोत्साही बनाउने र अन्ततः उद्यमीहरु पलायन हुनसक्ने अवस्थाप्रति सजग रहनसमेत परिसंघ सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ।