काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) को नेतृत्व र एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएको मनिलाका शीर्ष प्रतिनिधिमण्डलले वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारका माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफिनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ। 

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोतसाधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए। त्यसैगरी नेपाललाई अबको दिनमा इन्फ्रास्ट्रक्चर फाइनान्सिङ मेकानिजम, माइक्रो इन्टरप्रेनरसिप डेभलपमेन्ट प्रोजेक्ट र एसएमई फाइनान्सिङ आवश्यक भएको उनले बताए। 

‘साना तथा मझौला व्यवसयीलाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्छ अनिमात्र उनीहरु दिगो रुपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन्, एमएसएमईहरुबाट ठूलो रोजगारी सिर्जना हुने हुनाले यी उद्योगलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपको सहित सहयोग गरिनुपर्छ’, उनले भने। 

परकाशले कुनै प्रक्रियागत बाधा बिना उचित ब्याज दरमा जोड दिए। ‘ता कि एमएसएमईहरुलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धितोरहित ऋण दियो भनेमात्र उनीहरु बाँच्न सक्छन’, उनले भने, ‘महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक हुन्। महिलालाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट ब्यबसाय प्रबर्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठूलो सहयोग पुग्नेछ।’ 

बैठकमा सीबीफिनका अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरे। उनले भने, ‘जसले गर्दा तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने छन् र व्यावसायिक क्षेत्रका उद्यमीहरुले कोभिड–१९ ले थला परेका उद्योग पूर्ण क्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित छ।’

त्यस्तै यस कठिन समयमा देशका वाणिज्य बैंकहरुले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाइ छ। ‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २४७ अरब ३ करोडले घाटामा छ। यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरुमार्फत एमएसएमईएसलाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ, जसले दिगो अर्थतन्त्रका लागि उत्पादक र कृषकको क्षमता बलियो बनाउन मद्दत गर्छ।’

सीबीफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिए। ‘त्यसका लागि सीबीफिनले नीति संवाद, नीति निर्माण साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार छ’, उनले भने। 

कुमारी बैंकका अध्यक्ष अमिर राणाले स्वदेसी उत्पादन लाई प्रबर्धन गर्न सकिए गर्दा नेपालमै रोजगार, आयातमा कटौती भई सरकारलाई ठूलो राजश्व पनि उठाउन सकिन्छ र तरलताको समस्या केही हदसम्म समाधान हुने बताए। उनले नेपाल हर्बल संघ, राष्ट्रिय एलो उद्यमी संघ, नेपाल निर्यातकर्ता महासंघ लगायतका व्यवसायीहरुले स्वदेशी निकासी हुने एलो, रेशम, जडीबुटी, कपडा तथा अन्य स्थानीय हस्तकलाका उच्च गुणस्तर उत्पादनहरुको प्रवर्द्धन गर्ने कुरा उठाए। 

नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको अपिल गरिन्। त्यसैगरी नेपाल राष्ट्रिय अल्लो उद्यमी संघका उपाध्यक्ष गणेश एईडीले यातायात र वित्तीय ठूलो समस्या रहेको बताए। 

एडीबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिका बारेमा धारणा राखे।