काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ ।

संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट स्वीकृत विधानअनुसार कार्यसमितिमा रिक्त रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनीत गरिएको हो ।

विधान बमोजिम कार्यसमितिको दुईवर्षे कार्यकालको एक वर्ष पूरा भइसकेको छ ।

अधिकांश पदाधिकारी विहिन भई संस्थागत कामकारबाहीमा बाधा अड्चन आउन नदिन पदाधिकारी मनोनीत गरिएको संस्थाले जानकारी दिएको छ ।

संस्थाले वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्षमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली, महासचिवमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, सचिवमा मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल र सहकोषाध्यक्षमा नेपाल फाइनान्सका अध्यक्ष हिरेन्द्रमान प्रधानलाई मनोनीत गरेको हो । 

संस्थाका अध्यक्ष पवनकुमार गोल्यानले मनोनीत पदाधिकारीको शपथग्रहण गराई बधाई तथा शुभकामना समेत व्यक्त गरे ।

शपथ ग्रहणपछि वरिष्ठ उपाध्यक्ष उपाध्यायलगायत पदाधिकारीले आफूहरूप्रति विश्वास र भरोसा जिम्मेवारी दिएकोमा धन्यवाद व्यक्त गर्दै सीबीफीनले आर्जन गरेको मान प्रतिष्ठा, गरिमा र उपलब्धिलाई सुरक्षित राख्दै थप उचाइमा पुर्‍याउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै, बैठकले सीबीफीनको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह र पूर्वमहासचिव केशवबहादुर रायमाझीलाई चयन गरेको छ ।