काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजार सुधारका लागि आवश्यक केही नीतिगत निर्णयहरु छिट्टै आउने संकेत गरेका छन्। 

वर्ल्ड इन्भेस्टर विक–२०२३का अवसरमा आज काठमाण्डौमा नेपाल धितोपत्र बोर्डले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महले यस्तो संकेत गरेका हुन्। ‘अहिले विविध कारणले सेयर बजार तल झरेको छ’, उनले भने, ‘नीतिगत व्यवस्था र अर्थतन्त्रमा देखिएका समस्या सेयर बजारमा पनि प्रभावित बनेको छ। यसको समाधान हुनुपर्छ र हुँदै जानुपर्छ । यसको सुधारका लागि छिट्टै केही नीतिगत निर्णयहरु आउँछन् भन्ने मैले विश्वास लिएको छु।’

सेयर बजारमा स्वस्थकर गर्न आवश्यक रहेको पनि अर्थमन्त्री महतले औँल्याए। ‘यसको लाभ आमलगानीकर्ताले उठाउन पाउनुपर्छ’, उनले भने, ‘सेयर बजारबाट केही हुन्छ कि भनेर स–साना पुँजी लगानी गर्नेहरुधेरै आएका छन्, उहाँहरुको लगानी सुरक्षित हुने वातावरण बनाउनुपर्छ।’

सेयर बजारमा इन्साइडर ट्रेडिङ, सूचनाहरु चुहिनेजस्ता प्रवृत्तिहरु पनि देखिएको अर्थमन्त्री महतले बताए। ‘यस्ता गतिविधिहरु रोक्न धितोपत्र बोर्डले कठोर व्यवस्था ल्याउनुपर्छ’, उनले भने। 

अर्थमन्त्री महतले धितोपत्र बोर्डले सुरुआत गरेको च्याटबोट सेवा फलदायी साबित हुने आशा पनि व्यक्त गरे। ‘यो सेवाले लगानीकर्ता गुनासा र जिज्ञासा सम्बोधन हुनेमा म विश्वस्त छु’, उनले भने।