काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयदेखि संचालन हुँदै आएको सुन तस्करी काण्डमा संलग्नताको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्रीले तस्करबाट मासिक १२ लाख रुपैयाँको दरले कमिसन लिने गरेको अनुसन्धानको क्रममा खुलेको छ । 

खत्रीभन्दा अघि पक्राउ परेका भन्सार अधिकृत श्रीनारायण यादवको बयानको क्रममा एसएसपी खत्रीले प्रत्येक पटकमा १ लाख रुपैयाँ कमिसन लिने गरेका थिए । 

यादवले प्रहरीमा दिएको बयानका अनुसार हप्तामा ३ पटकका दरले ९० केजी सुन विमानस्थलबाट तस्करीको सेटिंग मिलाइएको थियो । यो हिसाबले मासिक ३६० केजी सुन तस्करी हुने गरेको तथ्य खुलेको छ । हरेक हप्ता ३ पटक हुने तस्करीमा एसएसपी खत्रीले प्रत्येक पटकको १ लाख रुपैयाँ कमिसन लिने गरेका यादवले बयानमा खुलाएका सुरक्षा स्रोतले जनाएको छ । 

मासिक १२ लाख रुपैयाँको दरले बुुझ्ने कमसिन खत्री आफैंले मात्र राख्थे कि अरुतिर पनि पुुग्थ्यो भन्ने बिषयमा प्रहरीले आफ्नो अनुसन्धान केन्द्रीत गरेको बताइएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले एसएसपी खत्रीलाई आइतबार नियन्त्रणमा लिएको थियो । उनलाई सोमबार ४ दिनको म्याद थप गरी हिरासतमै राखिएको छ । 

२०७३ पुस १५ गते विमानस्थलमार्फत तस्करी हुँदै गर्दा पक्राउ परेको करिब ३४ केजी सुनको बिषयमा थालिएको अनुसन्धानको क्रममा पक्राउ परेका भन्सार कर्मचारीहरुको बयानको आधारमा उनलाई पक्राउ गरिएको थियो । लगातार भइरहने सुन तस्करी प्रकरणमा लामो समयदेखि नै अर्थमन्त्री समेत मुछिँदै आएका छन् । उनले सुन तस्करीमा आफूू भूरा माछा मात्र भएको, ठूलो माछा अरु नै रहेको बयान दिएपछि सुन तस्करीको कनेक्सन निकै माथिसम्म रहेको बुुझ्न सकिन्छ । तर महराले भनेको त्यो ठूलो माछासम्म पुुग्ने आँट सीआइबीले गर्छ या गर्दैन, धेरैको प्रतिक्षाको बिषय बनिरहेको छ ।