– अर्जुन तिमिल्सिना

काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको रोजाइमा पर्न सफल जलविद्युत कम्पनीमध्ये एउटा हो, ङादी ग्रुप पावर। 

२०६२ सालमा प्राइभेट कम्पनीका रुपमा स्थापित ङादी ग्रुप पावर २०७१ सालमा पब्लिका कम्पनीमा परिणत भएको थियो। यो कम्पनीले लमजुङको भुलभुलेस्थित सिउरीखोलामा ५ मेगावटको सिउरीखोला जलविद्युत आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएको छ। रन अफ द रिभरमा आधारित यो आयोजनाको पीपीए रेट हिँउदमा ७ रुपैयाँ र बर्खायाममा ४ रुपैयाँ रहेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको सेयरपुँजी ७० कारोड ६९ लाख रुपैयाँ रहेको छ। सेयरपुँजी अघिल्लो वर्ष यही अवधिमा ५८ करोड ९१ लाख रुपैयाँमा सीमित थियो। 

तेस्रो त्रैमाससम्म कम्पनीको रिटर्न अन अर्निङ ६ करोड १७ लाख रुपैयाँ रहेको छ। ईपीएस १०.२७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.७४ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य २३६.६५ रुपैयाँ रहेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले ५ करोड ४४ लाख रुपैयाँबराबर खुद नाफा आर्जन गरेको छ। कम्पनीको ५ वर्षको वार्षिक औसत लाभांशदर ११.१८ प्रतिशत रहेको छ। 

गत अर्थिक वर्षका लागि कम्पनीले २० प्रतिशत लाभांश दिएको थियो। कम्पनीले हालै सेबोनबाट चुक्तापुँजीको १५० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले बुक क्लोज पनि गरिसकेको छ। 

सुपर ट्रेन्डका आधारमा 

प्राविधिक विश्लेषणमा सुपर ट्रेन्ड एक सहज बुझ्न सकिने इन्डिकेटर हो। यदि सुपर ट्रेन्डलाई मूल्यरेखाले तलबाट काटेर माथि गएमा ‘बाई’ सिग्नल र मूल्यरेखाले सुपर ट्रेन्डलाई माथिबाट काटेर तल गएमा ‘सेल’ सिग्नल भएको बुझिन्छ। यो आधारमा यो कम्पनीको मूल्यरेखाले गत २४ जुनमा तलबाट  काटेर माथि गएको र हालसम्म पनि भ्यालिड नै रहेको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि हालसम्म पनि हरियो नै रहेको छ। (हेर्नुहोस् हरियो एरो) 
यस आधारमा यो कमपनीको सेयरमूल्य अझै पनि बुलिस नै रहेको देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा 

यो कम्पनीको बोलिंगर ब्यान्डका आधारमा दैनिक चार्टअन्तर्गत हेर्ने हो भने अप्पर  ब्यान्डमा रातो क्यान्डल बनाएर खसेको बजारले मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। म्याक्डीमा गत २४ जुनमा बनाएको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड रहेको छ। तर, हिस्टोग्राम सकारात्मक भए पनि छोटा–छोटा हुँदै गएको देखिन्छ। 

दैनिक चार्टमै आरएसआई ६५ को तहबाट घटेर ४८ को न्युट्रल जोनमा आएको छ। 

फिवोनासीका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ३०६ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा २९५ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा २८७ रपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा २७८ रुपैयाँसम्म आउन सक्ने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ३०१
  • प्रतिरोध २– ३२७
  • प्रतिरोध ३– ३५४

पिभट प्वइन्टः २७५

घटेमा सपोर्ट 

  • सपोर्ट १– २४९
  • सपोर्ट २– २२२
  • सपोर्ट ३– १९७

निष्कर्ष

ङादी विद्युत पावरको सेयरमूल्य करिब एक वर्षपहिले करिब ५०० रुपैयाँभन्दा माथि पुगेको देखिन्छ। आधारभूत रुपमा कम्पनीको पुँजी बढ्दै जाँदा ईपीएस पनि बढ्दै जानु राम्रो पक्ष रहेको छ। तर, हालको करिब १५० प्रतिशत हकप्रद पनि पुँजीमा जोडिँदा कम्पनीको खुद नाफामा कस्तो प्रभाव पर्छ अथवा ईपीएसमा के–कस्तो बढोत्तरी आउँछ, त्यो भने आगामी कम्पनीको वित्तीय रिपोर्टले मात्रै निर्धारण गर्न सक्छ। 

एक वर्षको अवधिमा यो कम्पनीको सेयरमूल्यमा पनि अन्य कम्पनीमा जस्तै भारी गिरावट आएको देखिन्छ। यस कम्पनीलाई विभिन्न टुल्समार्फत नियाल्दा हाल बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा मूल्यरेखाले सपोर्ट लिएको छ। 

त्यसैगरी सुपर ट्रेन्डमा हालसम्म पनि बुलिस नै रहेको देखिन्छ। फिवोनासीमार्फत हेर्दा पनि ०.६१ प्रतिशत २७८ रुपैयाँको आसपासमा बलियो सपोर्ट देखिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण  हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।