काठमाण्डौ । प्रतिनिधि सभा अन्तरगत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी खेतीको प्रबर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

समितिको बुधबारको बैठकले सरकारले आगामी १६ औं पञ्चवर्षिय योजना तर्जुमा गर्दा सुपारी खेतीलाई प्रबर्द्धन गर्नेतर्फ नीतिगत व्यवस्था गर्न पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ।

साथै उसले सुपारी खेतीलाई कृषि जन्य वस्तुको रुपमा सूचीकृत गर्न र अरु कृषि उपज सरह अनुदान वा सहुलियतपूर्ण कर्जाको व्यवस्था सुपारी किसानलाई गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिले किसानहरुलाई सुपारीको उन्नत विउ वितरण, मलखादको व्यवस्था, आवस्यक यान्त्रिक उपकरणहरुको व्यवस्था, प्राविधिक जनशक्ति लगायतका सुपारी उत्पादनलाई अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्न पनि मन्त्रालयलाई भनेको छ । यसैगरी समितिले सुपारी उत्पादनको एकीकृत तथ्याक संकलन  तथा
 नेपालमा उत्पादन भएका कृषिजन्य वस्तुहरूको ल्याब टेस्ट लगायतको  आवश्यक व्यवस्था गरी विश्व वजारमा नेपाली उत्पादन निर्यात गर्न सक्ने वातावरण बनाउन पनि निर्देशन दिएको छ ।

समितिले  नेपालमा उत्पादन भई बिदेशमा निकासी हुने सुपारीको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था सम्बन्धी कार्यविधि, २०६८ लाई आवश्यक संशोधन गर्न  तथा नेपालमा आयात हुने सुपारीलाई काउन्टर भ्यालिङ ट्याक्स लगाइ सो वापतको रकम सुपारी किसानलाई प्रोत्साहन स्वरुप उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।