काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (ईडी) विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेजमा भ्रष्टाचार गरेको आरोपमा कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो मागदाबीसहित विशेष अदालत मुद्दा दायर गरेको हो। पौडेलसहितका आरोपीहरुले बदनियतपूर्वक मिलेमतोमा अस्वाभाविक लागत अनुमान तयार गरेको र स्वीकृत सम्झौताविपरीत ट्रान्सफर्मर र जेनेरेटर स्वीकार गरेको आयोगको ठहर छ। 

आयोगले ९ जनासँग २ अर्ब ६९ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको छ। 

अख्तियारले केन्द्रका मेकानिकल सीडीई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४७ लाख रुपैयाँ बिगो दाबी गरेको छ। पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रको प्रतिनिधिका रुपमा खटिएका थिए। हाल उनी वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन्।

त्यस्तै केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख रुपैयाँ, शाखा अधिकृत मनिकमन महर्जनविरुद्ध ३ करोड ४४ लाख रुपैयाँ, लेखा अधिकृतबाट सेवानिवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख रुपैयाँ, शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड १ लाख रुपैयाँ, प्रबन्ध निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख रुपैयाँ, निर्देशक भुवन महर्जनविरद्ध ४३ करोड ५७ लाख रुपैयाँ र प्रबन्ध निर्देशक मित्रलाल पुरीविरुद्ध ८ लाख ६९ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। 

आरोपीहरुले आवश्यकता नै नभएको बल्क फ्युल ट्यांक सिस्टम खरिद गरेर सरकारी रकम दुरुपयोग गरेको आयोगको ठहर छ।