काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कार्यबाहक प्रमुख आयुक्त दीप बस्न्यातको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख आयुक्तमा बस्न्यातको नाम सिफारिस गरेको हो ।

यसअघि माओवादी केन्द्रले एमालेसँग मिलेर तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाभियोग प्रस्ताव ल्याएको थियो । महाभियोग पुष्टि नहुँदै कार्कीलाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । कार्कीलाई पदमुक्त गर्ने कार्यमा प्रमुख भूमिका खेलेकी प्रधान न्यायाधीश सुशीला कार्कीलाई महाअभियोगको प्रस्ताव दर्ता गरी निलम्बन गरिएलगत्तै अख्तियार प्रमुखमा बस्न्यातको नाम सिफारिस हुनुलाई कतिपयले अर्थपूर्ण भनेका छन् ।

संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री, विपक्षी दलको नेता र प्रधानन्यायाधीश रहने व्यवस्था छ । प्रधानन्यायाधीश कार्की निलम्बनमा परेकाले कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली बैठकमा उपस्थित भए । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपसभामुख गंगाप्रसाद यादव समेत सहभागी थिए । संसदीय सुनुवाईपछि बस्न्यातलाई राष्ट्रपतिले नियुक्त गर्नेछन् ।