- भक्तराज रसाइली

काठमाण्डौ। सूचीकृत संस्थाहरुको संस्थागत सुशासन अभिवृद्धिका लागि नेपाल धितोपत्र बोर्ड सक्रिय भएको छ।

धितोपत्र बजारलाई सूचनाको बजार पनि भनिन्छ। सूचनाकै कारणले सूचीकृत कम्पनीका सेयरमूल्यको उत्तारचढाव हुने गर्दछ।

धितोपत्र बजारमा सूचीकृत संस्थाहरुको हेल्चेक्र्याइँ र मनोमानीविरुद्ध निकै गरम हुँदै आएको बोर्डकै निर्देशनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज पनि ७ हाइड्रोपावरसहित ११ कम्पनीका सेयर कारोबार रोक्का गरेको छ। गत साता बिशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनीको सेयर कारोबार रोक्का भइसकेको छ। बोर्डले अझै बीमा तथा माइक्रोफाइनान्सका केही कम्पनीका सेयर कारोबार रोक्का गर्ने तयारीसमेत गरेको छ।

बोर्डको निर्देशनमा नेप्सेले नेपाल हाइड्रो डेभलपर, पञ्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर कम्पनी, राधि विद्युत् कम्पनी, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट र युनियन हाइड्रोपावर कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। यस्तै गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयर कारोबार पनि नेप्सेले रोक्का गरेको छ।

एकाएक सूचीकृत संस्थाहरुको अनुशासनहीन काम र लगानीकर्ताप्रति गैरजिम्मेवारीपूर्ण भएका कम्पनीलाई नियमित रुपमा अनुगमन गर्दै खरो रुपमा उत्रने बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगाना बताउँछन्। ‘बजार चल्नका लागि अनुशासन चाहिन्छ र नियामक निकायका नियम परिपालना गराउन पनि अब बोर्ड कडा रुपमा प्रस्तुत हुनेछ’, उनले भने, ‘हामीले लगानीकर्तालाई सावधानीपूर्वक र विवेकपूर्ण आधारमा लगानी गर्न त भन्यौँ तर कम्पनीका विवरण नै प्रकाशन नभएपछि भने लगानीकर्ताको सुझबुझपूर्ण निर्णय नै प्रभावित हुन पुग्यो।’

कम्पनीका जानकारी, सूचना तथा तथ्यांक अपडेट नभएकाले अन्धाधुन्ध लगानी गर्दा लगानी जोखिममा पर्ने भएकाले बोर्डले कडा कदम चाल्नु परेको ढुंगानाले बताए। ‘नियामक निकाय र लगानीकर्ताप्रति सञ्चालकलाई जिम्मेवार बनाउन, कम्पनीलाई अनुशासनको ट्रयाकमा ल्याउन र संस्थागत सुशासनमा जोड दिनका लागि अब हामी नियमित अनुगमन गर्नेछौँ’, उनले थप प्रस्ट पारे।

यता नेप्सेका एक अधिकारीका अनुसार अब अन्य सूचीकृत कम्पनीका विषयमा सूक्ष्म रुपमा अध्ययन भइरहेको छ। पछिल्लो समयमा धितोपत्र बजारमा लगानीकर्ताको संख्या बढेको र उनीहरुले सुसूचित भई लगानी गरुन् भन्ने मनसायले अन्य कम्पनीको गतिविधिमाथि अध्ययन भइरहेको ती अधिकारीले स्पष्ट पारे। ‘नेप्सेको वेबसाइटबाटै सूचीकृत संस्थाका बारेमा धेरैभन्दा धेरै जानकारी पाउन र समयमै वित्तीय विवरणलगायत अन्य सूचनाको समान पहुँच लगानीकर्तामाझ पुगोस् भन्ने हाम्रो उद्देश्य हो’, ती अधिकारीले भने।

निर्धारित समयमा वार्षिक साधारणसभा नगर्ने, नियामक निकायको नियमलाई नजरअन्दाज गर्दैै लगानीकर्ताप्रति गैरजिम्मेवारपूर्ण कार्यसम्पादन गर्ने सूचीकृत संस्थाप्रति नियामक धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेको पछिल्लो कदम निकै स्वागतयोग्य र निरन्तरताको अपेक्षा गरिएको बजार जानकारहरु बताउँछन्। यसले आगामी दिनमा सेयर बजारलाई पारदर्शी तथा स्वच्छ बनाउन मद्दत मिल्ने उनीहरुको ठहर छ।