काठमाण्डौ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाले आईपीओ निकाल्ने निर्णय गरेको छ।
आयोजनाको प्रवर्द्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभाले आयोजना प्रभावित र अन्यका लागि आइपिओ जारी गर्ने निणर्य गरेको हो। साधारणसभाबाट पारित उक्त प्रस्तावलाई अब जतिसक्दो चाँडो कार्यान्वयनका लागि थप प्रक्रिया अगाडि बढाइने कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए।
जुम प्रविधिका माध्यमबाट सेमि–भर्चुअल रुपमा गरिएको साधारणसभाका प्रमुख अतिथि पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले भिजन लुम्बिनीले गरेको नौलो अभ्यासको प्रशंसा गरे। उनले स–सानो पुँजी एकीकृत गरेर ठूलठूला जलविद्युतको परियोजना चलाउनु उदाहरणीय भएको उल्लेख गरे।
भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ। माछापुच्छ्रेको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२.५ मेगावाट क्षमताका दुईवटा टर्वाइनमा जोडिनेछ।
विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिकाअनुसार नै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।
उत्पादित विद्युत ४ किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेसनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ। ५ अर्ब रुपैयाँ लगानी रहेको आयोजनामा ३ अर्ब ५० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। बाँकी रकम प्रवर्द्धक कम्पनी तथा स्थानीयले लगानी गर्नेछन्। स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन्।
जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरिद गरिसकिएको र सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रस्ताव वन मन्त्रालयमा पेश गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रवन्धक बमबहादुर गुरुङले जानकारी दिए।
आयोजनाले उत्पादन गरेको विद्युत वर्षायामको ६ महिना ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ प्रतियुनिटमा विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19