काठमाण्डौ । धितोपत्र सूचिकरण विनियमावली २०७५ मा भएको व्यवस्था विपरीत लाभांश सम्बन्धी सूचना सम्प्रेषण गरेको भन्दै सेन्ट्रल फाइनान्सको सूचिकरण स्थगन गरी नेप्सेले स्पष्टीकरण सोधेको छ । 

नेप्सेको सूचिकरण शाखाले सेन्ट्रल फाइनान्सको पुस २७ गते बसेको संचालक समितिको निर्णयमा नगद लाभांश सम्बन्धी सूचना पुस २९ गते मात्र आएको र शुक्रबार बैठक बसेको समय उल्लेख नभएको भन्दै २४ घण्टे स्पष्टीकरणपत्र पठाउँदै कारोबार रोक्का गरेको हो ।

संस्थाले बैठकको समय उल्लेख नगरेको देखिएकोले त्यसको कारण खुलाई पठाउन र यस विषयमा कम्पनीको प्रष्ट भनाई लिखित रुपमा राख्न निर्देशन दिएको छ । 

यो प्रकरणमा नियमावलीमा भएको व्यवस्था अनुसार तोकिएको ढाँचा अनुसार विवरण पेश गर्ने जिम्मेवारी प्रमुख कार्यकारी अधिकृत हुने भएकोले उनीमाथि किन कारबाही नगर्ने ? भन्ने प्रश्न समेत नेप्सेले कम्पनीलाई सोधेको छ ।