काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा कर्मचारीको नक्कली प्रमाणपत्र पेसको विषयमा ठूलै खैलाबैला मच्चिएको छ। 

गत शुक्रबार (सेबोन)का पूर्वअध्यक्ष सुरवीर पौड्यालले आफ्नो फेसबुक स्ट्याट्समा डाक्टरमात्रै किन ? कर्मचारीहरु पनि थुप्रै नक्कली सर्टिफिकेटवाला छन् भन्ने कुरा लेखेका थिए। ‘एकजना त नेपाल धितोपत्र बोर्डमा पनि थियो र भारतबाट उसको सर्टिफिके नक्कली भएको प्रमाणित भएर अख्तियारमा आयो पनि’, पौड्यालले लेखेका थिए, ‘तर, राजनीतिक शक्तिको आडमा उसको जागिर जोगियो। उसले अझै जागिर खाँदैछ कि सेवा निवृत्त भएर गयो जानकारी छैन।’

पूर्वअध्यक्ष पौड्यालको यो स्ट्याट्सले अहिले सेबोनभित्र तरंग मच्चिएको छ। केही कर्मचारीहरुले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर बढुवा हुन खोजेको तर असफल भएकोसमेत बताउँदै आएका छन्। 

यो घटना २०६८ सालको हो। त्यतिबेला अधिकृतस्तर (छैटौँ तह)मा बढुवा हुन राजबहादुर जीसीले स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको कर्मचारीवृत्तमै चर्चा चल्यो। ‘बढुवा खान नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा सेबोनभित्रैकै अन्य कर्मचारीले प्रमाणपत्रसहित अख्तियार दुरुपयोग अनुसन्धानमा दायर गरे’, सेबोनका एक उच्च अधिकारीले भने, ‘पछि अख्तियारले जीसीको आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्न सेबोनलाई निर्देशन दियो तर सेबोनले सकेन। तर, अख्तियारले आवश्यक कागजपत्र पेस गर्न नसके पनि जीसीमाथि कारबाही गर्न सेबोनलाई निर्देशन दिएको थियो।’

त्यतिबेला अख्तियारको निर्देशनमा सेबोनले नक्कली प्रमाणपत्र पेस गरेकोमा जीसीको २ ग्रेड रोक्का गरेको दाबीसमेत ती अधिकारीको छ। ‘सेबोनको कार्यालय गौशालाबाट जावलाखेल सार्ने क्रममा जीसीको डकुमेन्ट नै हराएको भन्ने कुरा आएको थियो’, ती अधिकारीले भने, ‘सायद यसमा ठूलै राजनीतिक चलखेल पनि हुन सक्छ।’

जीसी हाल सेबोनमा कामु सहायक निर्देशकका रुपमा कार्यरत छन्। ‘उनको प्रमाणपत्र तह (आईए)सम्मको शैक्षिक योग्यता छ’, ती अधिकारीले भने, ‘स्नातक तहको शैक्षिक प्रमाणपत्र नभएकै कारण उनी लामो समयदेखि नासुसरहकै पदमा कार्यरत छन्।’ 

सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले उहिले नै सेटल भइसकेको कुरामा थप छलफल गर्न आवश्यक नरहेको बताए। ‘यो उहिलेकै मुद्दा हो, त्यतिबेला नै टुंगो थियो’, उनले बिजशालासँग भने, ‘त्यसैले यो विषयमा थप छलफल गर्नुपर्छ जस्तो लाग्दैन।’

यस विषयमा नासु जीसीले आफूमाथि लागेको आरोप कपोकल्पित र भ्रामक रहेको बताए। ‘मैले २०५८ सालतिर सेबोनमा खरिदार पदमा जागिर खाएको हुँ’, उनले भने, ‘२०६८ सालमा नियमविपरीत कर्मचारी भर्ना गर्न खोजिँदा निरज गिरीलगायत हामीले विरोध गरेका थियौँ। त्यतिबेला सुरवीर पौड्याल सेबोनको अध्यक्ष थिए र मैले कर्मचारी युनियनको नेतृत्व गरेको थिएँ। हामीले १९ दिनसम्म सेबोनमा तालाबन्दी पनि गर्यौँ। त्यसैको बदला अहिले लिन खोजिइएको हो।’

त्यतिबेला फेक डकुमेन्ट प्रिन्ट गरेर सेबोनकै केही अधिकारीहरुले आफ्नो शैक्षिक योग्यतालाई लिएर अख्तियारमा उजुरी गरेका जीसीको दाबी छ। ‘तर, मैले खरिदारमै जागिर खाँदासम्म आईए पास गरिसकेको थिएँ, मैले त नासुमा बढुवा हुनुपर्यो भनेर आवेदन पनि दिएको थिइनँ।’

पछि अख्तियारले आफ्नो शैक्षिक योग्यतालाई लिएर क्लिन चिट दिएको जीसीको भनाइ छ। ‘अख्तियारबाट सफाइ पाएपछि पनि मेरो नासुमा बढुवा २०७२ सालमा मात्रै भएको हो’, उनले भने, ‘अहिले राजनीतिक पूर्वाग्रहका आधारमा पुराना मुद्दा उठाइएको छ। जुन सेटल भइसक्यो।’