काठमाण्डौ । कुनै एउटा कार्यालयमा कायममुकायम (कामु)को जिम्मेवारी कतिजनालाई दिन मिल्छ ? एकजना, दुईजना वा पाँचजना ? तर, एउटै कार्यालयमा कुल कर्मचारीमध्ये आधालाई कामुको जिम्मेवारी दिइएको कतै थाहा पाउनुभएको छ ? सायदै होला ।
पुँजीबजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)मा यस्तै अवस्था छ। त्यहाँ कुल ६४ जना कर्मचारी कार्यरत छन्। तीमध्ये ३१ जनालाई कामुको जिम्मेवारी दिइएको छ। यसरी कामुको जिम्मेवारी पाउनेमा वरिष्ठ सहायक पददेखि कार्यकारी निर्देशक पदसम्म छन्।
सेबोनमा कार्यकारी निर्देेशकको २, नायब कार्यकारी निर्देशकको ६ जना, निर्देशकको १५, सहायक निर्देशकको ७ जना र वरिष्ठ सहायकको एकजनाले कामुको जिम्मेवारी पाएका छन्। (तल सूचीमा हेर्नुहोस्)
सेबोन अध्यक्षलगायत सञ्चालक समितिका पदाधिकारीले आफ्नो चाहनाअनुसार काम गराउन कर्मचारीलाई फकाउनका लागि कामुको जिम्मेवारी दिएको सेबोनका एक अधिकारीले बताए। ‘एउटै कार्यालयमा यति धेरैलाई कामुको जिम्मेवारी कतै सुन्नुभएको छ ?’, ती अधिकारीले प्रश्न गर्दै भने, ‘तर, सेबोनमा दिइएको छ।’
ती अधिकारीकाअनुसार कामुको जिम्मेवारी दिने नियमको सेबोनले पूर्ण रुपमा उल्लंघन गरेको छ। ‘कुनै पदमा कामुको जिम्मेवारी दिँदा बढीमा ६ महिनासम्मका लागि दिन मिल्छ र ६ महिनापछि फेरि उक्त पदमा कामुको जिम्मेवारी दिनुपरेको खण्डमा अर्का व्यक्तिलाई दिनुपर्छ’, उनले भने, ‘तर, ६ महिनाभन्दा बढी समयदेखि एकै व्यक्तिले कामुको जिम्मेवारी पाइरहेका छन्।’
नियमअनुसार कुनै पदमा एक श्रेणीमुनिका कर्मचारीले कामुको जिम्मेवारी पाउँछन्। कामु मुकरर गर्दा सामान्यतया वरिष्ठ कर्मचारीलाई गर्नुपर्ने हुन्छ। अध्यक्षले नै कामुको जिम्मेवारी दिन सक्छन्।
सेबोनको नियमावलीमा कामुको समयावधि खोइ ?
कर्मचारीलाई कामुको जिम्मेवारी दिने व्यवस्था र समयावधि र पाउने सेवासुविधाका विषयमा निजामती सेवा ऐन, २०४९ मा स्पष्ट उल्लेख छ। तर, सेबोनको नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त (तेस्रो संशोधित) नियमावली, २०७५ मा कामुको जिम्मेवारी दिने व्यवस्था र सेवासुविधा उल्लेख भए पनि समयावधि भने उल्लेख छैन।
निजामती सेवा ऐन, २०४९ को दफा १३ को उपदफा (१)मा कुनै पनि विभागीय प्रमुख वा कार्यालय प्रमुखको पद रिक्त भएमा वा त्यस्तो पदमा बहालवाला कर्मचारी १५ दिनभन्दा बढी समयसम्म बिदामा बसेमा वा प्रचलित कानुनबमोजिम कारबाहीमा परेमा सो पदमा तत्काल काम चलाउनका लागि समानस्तर वा बढुवाको लागि सम्भाव्य उम्मेदवार भइसकेको एक श्रेणीमुनिको पदको निजामती कर्मचारीलाई बढीमा ६ महिनाका लागि कामु मुकरर गर्न सकिनेछ। यसरी कुनै पदमा कामु मुकरर गरिसकेपछि सोही वा अन्य व्यक्तिलाई पुनः सो पदमा कायममुकायम मुकरर गर्न सकिने छैन भन्ने स्पष्ट उल्लेख छ।
सोही दफाको उपदफा (२) मा उपदफा (१) विपरीत कुनै कर्मचारीलाई कामु मुकरर गरेमा निजले सो पदमा रहदा खाइपाइ आएको तलब, भत्ता र अन्य सुविधावापतको रकम कामु मुकरर गर्ने पदाधिकारीबाट सरकारी बाँकीसरह असुलउपर गरिने भन्ने स्पष्ट उल्लेख छ।
सेबोनको नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त (तेस्रो संशोधित) नियमावली, २०७५ को परिच्छेद–६ कामु तथा निमित्तसम्बन्धी व्यवस्थाको दफा ४८ मा उपनियम (१) कुनै कर्मचारी १५ दिनभन्दा बढी बिदामा बसेको वा काजमा गएको वा निलम्बन भएको वा सेवाबाट हटाइएको अवस्थामा वा दरबन्दीअनुसार रिक्त रहेको कुनै पदमा एक श्रेणीमुनिको कर्मचारीलाई आवश्यकताअनुसार अध्यक्षले कामु मुकरर गर्नसक्ने भन्ने उल्लेख छ। उपनियम (२)मा उपनियम (१) बमोजिम कामु मुकरर गर्दा सामान्यतया वरिष्ठ कर्मचारीलाई गर्नुपर्ने व्यवस्था छ।
दफा ४९ उपनियम (१) कुनै पदमा कायममुकायम भई काम गर्ने कर्मचारीले कामु भई काम गरेको पदको सुरुको तलब भत्ता र सो पदको सुविधा आदि कामु भई काम गरेको दिनदेखि पाउनेछ। सञ्चय कोष, बीमा, औषधि उपचार सुविधा, उपदान, सामाजिक सापटी तथा अन्य सापटी, तथा विदाको सट्टा दिइने तलब रकम भने निजको आफ्नो पदाधिकार रहेको पदअनुसार नै पाउने व्यवस्था छ। तर, कामु भई काम गर्ने कर्मचारीले आफ्नो पदाधिकार रहेको पदमा रहँदा खाइपाई आएको तलबभत्ता कामु भई काम गरेको पदको सुरु तलबभन्दा बढी रहेछ भने निजले आफ्नो पदाधिकार रहेको तलब भत्ता लिन पाउने उल्लेख छ। उपनियम (२) स्वदेशभित्र वा विदेश भ्रमणमा जाँदा कर्मचारीले जुन पदमा कायममुकायम मुकरर भएको छ, सोही पदको सुविधा तथा सहुलियत उपभोग गर्न पाउने व्यवस्था छ।
तर, सेबोनको नियमावलीमा भने कामु जिम्मेवारी दिने समयावधिबारे कुनै उल्लेख छ।
सेबोनका सूचना अधिकारी एवं कामु कार्यकारी निर्देशक तेजप्रसाद देवकोटा लामो समयदेखि सेबोनमा पदपूर्ति नहुँदा रिक्त पदमा कामु जिम्मेवारी दिँदा संख्या धेरै देखिएको बताउँछन्। ‘हालको नियमावलीमा कामुको जिम्मेवारी ६ महिनासम्मका लागि मुकरर गर्ने र फेरि कामु तोकिएका व्यक्ति दोहोर्याएर कामु तोक्ने नपाइने व्यवस्था छैन’, उनले भने, ‘तर, नियमावली संशोधनका लागि लोकसेवासँग सहमति लिन पठाएका छौँ। अब संशोधन हुने नियमावलीमा यी व्यवस्थालाई कार्यान्वयन गरिनेछ।’
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली सेबोनमा यति धेरैलाई कामुको जिम्मेवारी दिइनु नियमसंगत नभएको बताउँछन्। ‘प्रमुख पद रिक्त हुँदा १–२ जनासम्मलाई कामुको जिम्मेवारी ठिकै हो’, उनले भने, ‘तर, ३१ जनालाई त्यो पनि वरिष्ठ सहायकदेखि कामु दिइनु उचित भएन।’
सबै सरकारी तथा अर्धसरकारीको कर्मचारीको सेवासम्बन्धी नियम लगभग एउटै हुनुपर्ने मैनालीले बताए। ‘सेबोनमा कसरी फरक पर्यो। यो हुँदै भएन’, उनले भने, ‘यस विषयमा लोकसेवा आयोगले सेबोनसँग आवश्यक परामर्श गरी उचित कदम चाल्नुपर्छ।’
‘कामु भनेर परिचय दिन पनि लाज लाग्न थाल्यो’
त्यसो जताततै कामुमात्रै भेटिने सेबोनमा कामुको जिम्मेवारी पाएका कर्मचारीलाई आफू कामु भनेर परिचय दिन छाडेका छन्। बैठक होस् वा अन्य कुनै कार्यक्रम उनीहरुले आफ्नो पहिलेकै पदका हिसाबले परिचय दिने गरेका छन्। ‘आफूलाई कामु भनेर परिचय दिनै लाज लाग्न थालेको छ’, कामुको जिम्मेवारी पाएका सेबोनका एक अधिकारीले भने, ‘जताततै कामु नै कामु छन्। त्यसैले बैठक वा अन्य कार्यक्रममा आफ्नो पहिलाकै पदका हिसाबले परिचय दिने गरेका छौँ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago