काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको मुद्दा अब टुंगिने भएको छ। 

आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि यो मुद्दा किनारा लाग्नेतर्फ लम्किएको हो। न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशले यो मुद्दाको पूर्ण सुनुवाइका लागि पेस गर्ने अग्राधिकार दिने आदेश दिएको छ। योसँगै अब अन्तिम सुनुवाइका लागि अदालतले पेसी तोक्नेछ। 

सिन्हा र मल्लाको संयुक्त इजलाशले रिट निवेदकको मागबमोजिम आदेश दिन भने अस्वीकार गरेको छ। यसअघि अल्पकालीन अन्तरिम आदेशलाई भने निरन्तरता दिइएको छ। 

अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सेबोनले सुरु गरेको नयाँ स्टक एक्सचेन्ज, कमोडिटिज एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, सेबोन र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ। 

यसअघि गत कात्तिक २९ गते न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले विपक्षहरुको नाममा उक्त निर्णयको फाइल झिकाउन आदेश दिएको थियो। 

त्यसअघि गत कात्तिक ४ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले व्यापारिक लाइसेन्स वितरणको कार्य तत्काल अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। श्रेष्ठको इजलाशले गत कात्तिक २२ गते दुवै पक्षलाई छलफलका लागि डोकेको थियो।

गत कात्तिक २२ गते न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा यो मुद्दा तोकिएको थियो। त्यस दिन यो मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको थियो। 

त्यसपछि गत कात्तिक २७ गते उक्त रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यस दिन न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको थियो। 

सेबोनले गत असोज २ गते नयाँ लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको थियो। सर्वोच्चको आदेशपछि सेबोनले गत कात्तिक १५ गते सूचना जारी गर्दै लाइसेन्स वितरणको प्रक्रियालाई यथास्थितिमा राख्ने निर्णय गरेको थियो।