– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । करिब २ वर्षपहिले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले काठमान्डौको मनोहरामा जग्गा खरिदका लागि दिएको बैनाबापतको ४२ करोड ५० लाख रुपैयाँ अलपत्र परेको छ। दुई वर्षदेखि हालसम्मको ब्याज हिसाब गर्ने हो भने उक्त पैसा ५० करोडभन्दा बढी हुन आउँछ। 

हाल सेबोनको काठमाण्डौको खुमलटारमा ८ लाख रुपैयाँ मासिक तिरेर भाडाको घरमा बसेको छ। सेबोनमा करिब ७५ जना कर्मचारी कार्यरत छन्। ‘कर्मचारी बढ्दै जाँदा यो भवन पनि साँघुरो हुँदै जाने देखिन्छ’, सेबोनका एक अधिकारीले भने। 

सेबोनका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाले आफ्नै कार्यकालमा भवन निर्माणका लागि मनोहरामा ७ रोपनी जग्गा खरिदका लागि उक्त रकम बैना दिएका थिए। ‘तर, २ वर्ष बितिसक्दा पनि सेबोनले न जग्गा नै खरिद गर्न सकेको छ न पैसा नै फिर्ता लिन सकेको छ’, ती अधिकारीले भने। 

तत्कालीन समयमा सेबोनले काठमाण्डौ उपत्यका विकास प्राधिकरणसँग जग्गा खरिदका लागि उक्त पैसा दिएको थियो। प्राधिकरणले पनि मनोहरा एकीकृत जग्गा परियोजनासँग जग्गा किनेर सेबोनलाई दिने सम्झौता भएको थियो। तर, पछि उक्त जग्गा बाटोमा पर्ने र सम्झौता भएअनुसारको ७ रोपनी जग्गा नहुने भएपछि सेबोन पछि हटेको स्रोत बताउँछ। ‘सेबोनको कार्यालय भवन पायक पर्ने ठाउँ आसपास हुनुपर्ने हो’, स्रोत भन्यो, ‘अहिले कार्यालय अलि अपायक ठाउँमा छ। जग्गा खरिद गर्ने भनिएको ठाउँ पनि पायक नपर्ने भएकोले विरोध भइरहेको छ।’ 

सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाले काठमाण्डौ उपत्यका विकास प्राधिकरणले सेबोनको पैसा फिर्ता लैजान भनेको जानकारी दिए। ‘तर, सेबोनले पैसा फिर्ता लैजाने वा त्यही जग्गा खरिदका लागि अगाडि बढाउने भन्नेमा निर्णय भइसकेको छैन।’