काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा ११ जनाको आवेदन परेको छ।

सेबोनको अध्यक्ष पदमा आवेदन दिने आज (कात्तिक २५ गते) अन्तिम दिन रहेको छ। आवेदन कात्तिक ११ गतेबाट खुला गरिएको थियो।

यसअघि सरकारले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै सेबोन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अगाडि बढाएको छ।

अर्थ मन्त्रालयले सेबोनमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ। सोही समितिले अब यी ११ जनाबाट छनोट गरी ३ जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। 

समितिको सिफारिसका आधारमा सरकारले ती ३ जनामध्ये एकजनालाई सेबोनको अध्यक्षमा नियुक्ति दिनेछ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सेबोनको अध्यक्ष पदका लागि सेबोनकै कार्यकारी निर्देशक निरज गिरी र नायब कार्यकारी निर्देशक डा नवराज अधिकारीको आवेदन परेको छ। अधिकारीले यसअघि पनि सेबोनको अध्यक्ष पदमा आवेदन दिएका थिए। त्यतिबेला सेबोनको अध्यक्षमा भीष्मराज ढुंगानालाई सरकारले नियुक्त गरेको थियो।

यसैगरी सेबोनको अध्यक्ष पदमा अनिल पौडेल, सीताराम थपलिया, चिरञ्जीवी चापागाईं, डा केशवप्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन आमगाई, कृष्णप्रसाद आचार्य, गोपालप्रसाद भट्ट र अम्बिका लामिछानेको पनि आवेदन परेको छ।

यीमध्ये थपलिया नेप्सेका पूर्वसीईओ हुन भने चापागाईं बीमा समितिका पूर्वअध्यक्ष हुन्। त्यस्तै भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक, आचार्य कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक र श्रेष्ठ सेयर लगानीकर्ता हुन्।