काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ वटा नयाँ ब्रोकर कम्पनीलाई सञ्चालनका लागि आशयपत्र (एलओआई) दिने निर्णय गरेको छ। 

सेबोनको आज बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ १६ वटा ब्रोकर कम्पनीलाई सञ्चालनका लागि आशयपत्र दिने निर्णय गरेको हो। ‘अहिले ती कम्पनीलाई आशयपत्र मात्रै दिइएको हो’, सेबोनका प्रवक्रा मुक्तिनाथ श्रेष्ठले बिजशालासँग भने, ‘६ माहिनाभित्र सेबोनले तोकेको मापदण्डअनुसार ती कम्पनीले भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्नेछ। त्यसपछि मापदण्डबमोजिम पूर्वाधार निर्माण गरेका कम्पनीलाई सञ्चालन अनुमतिपत्र (लाइसेन्स) दिइनेछ।’

ब्रोकर लाइसेन्सका लागि आवेदन परेका बाँकी कम्पनीहरुको अध्ययन गर्ने काम भइरहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘हाललाई १६ वटाको अध्ययन गरेर एलओआई प्रदान गरिएको छ’, उनले भने, ‘अन्यलाई क्रमशः एलओआई दिइनेछ।

एलओआई पाउनेमा स्टक डिलरका रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण ब्रोकरेज कार्य गर्ने धितोपत्र दलालका लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेका छन्। अन्य १४ वटा भने सीमित ब्रोकरेज सेवा प्रदान गर्ने ब्रोकर कम्पनीहरु छन्।

सेबोनबाट आशयपत्र पाउने अन्य कम्पनीमा हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज छन्। 

सेबोनले गत असोज २ गते तीन प्रकारका ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ। तोकिएको ३५ दिनको अवधिमा सेबोनमा ४५ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन्।