काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा नयाँ कम्पनीलाई ब्रोकरेस सेवा सञ्चालनका लागि आशयपत्र (एलओआई) प्रदान गरेको छ। 

सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले थप १३ कम्पनीलाई एलओआई प्रदान गर्ने निर्णय गरेको हो। यससँगै एलओआई पाउने ब्रोकर कम्पनीको संख्या २९ पुगेको छ। यसअघि सेबोनले १६ वटा कम्पनीलाई एलओआई दिइसकेको छ। 

सेबोनले बुधबार एलओआई प्रदान गरेका कम्पनीहरुमा सनराइज सेक्युरिटिज, जेबीएनएल सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, स्टकस्कार्टस् सेक्युरिटिज, प्रोपर्टी विजार्ड, क्यापिटल हब, मिल्की वे सेयर ब्रोकर, ब्लुचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, कलश स्टक मार्केट, मनी वर्ल्ड सेयर एक्सचेन्ज, शुभकामना सेक्युरिटज र मियो सेक्युरिटिज छन्। 

यसअघि सेबोनबाट एलओआई पाउनेमा स्टक डिलरका रुपमा आवेदन दिएको नबिल सेक्युरिटिज र पूर्ण ब्रोकरेज कार्य गर्ने धितोपत्र दलालका लागि आवेदन दिएको मेघा स्टक मार्केट रहेका छन्। अन्य १४ वटा भने सीमित ब्रोकरेज सेवा प्रदान गर्ने ब्रोकर कम्पनीहरु छन्।

यसअघि सेबोनबाट आशयपत्र पाउने अन्य कम्पनीमा हिमालयन ब्रोकेज कम्पनी, सीबीआईएल सेक्युरिटिज, केबीएल सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, आरबीबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज र आकाश भैरव सेक्युरिटिज छन्। 

सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले आशयपत्र पाएका कम्पनीहरुले ६ माहिनाभित्र सेबोनले तोकेको मापदण्डअनुसार भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्ने बताए। ‘त्यसपछि मापदण्डबमोजिम पूर्वाधार निर्माण गरेका कम्पनीलाई सञ्चालन अनुमतिपत्र (लाइसेन्स) दिइनेछ’, उनले भने। 

सेबोनले गत असोज २ गते तीन प्रकारका ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ। तोकिएको ३५ दिनको अवधिमा सेबोनमा ४५ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका छन्।