काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ धितोपत्र बजार (स्कट एक्सचेन्ज) र धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स वितरण गर्न संशोधन गरिएका नियमावलीहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजरालमा आज (कात्तिक १६ गते) रिट दर्ता भएको छ। 

मन्त्रिपरिषद्को बैठकबाट पारित गरी सेबोनले लागू गरेको धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली, २०७९ को नियम २ को उपनियम (१०, (२) र (३), नियम ३ को उपनियम (१) र नियम ८ धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ को नियम २, नियम ३ को उपनियम (१) र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौं संशोधन) नियमावली, २०७९ खारेज गर्न माग गर्दै रिट दर्ता भएको हो। रिट दर्ता गर्नेमा अधिवक्ता अमृत खरेल एवं आर्थिक पत्रकार इन्द्रबहादुर बानियाँ छन्। 

सीमित व्यापारिक घरानाका व्यक्तिहरुलाई लाभान्वित गराई योजनाबद्ध रुपमा नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी मार्केटको लाइसेन्स वितरण गर्ने उद्देश्यले ती नियमावलीहरु संशोधन गरिएको रिटमा दाबी गरिएको छ। 

ती नियमावलीमा उल्लिखित सम्पूर्ण कानुनी व्यवस्था संविधान, प्रचलित धितोपत्रसम्बन्धी ऐन २०६३, कम्पनी ऐन २०६३, धितोपत्र बजार नियमनको विश्वव्यापी सिद्धान्त तथा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु, न्यायका मान्य सिद्धान्त तथा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्तसमेतसँग बाझिएको हुनाले प्रारम्भदेखि नै अमान्य र बदर घोषित गरी उत्प्रेषण, परमादेश, प्रतिषेधलगायत उपयुक्त आदेशसमेत जारी गरी पाउन रिटमा माग गरिएको छ। 

प्राइभेट कम्पनी पनि स्टक एक्सचेन्जको प्रवर्द्धक हुनसक्ने गरी गरिएको नियमावली संशोधनबाट कुनै पनि प्राइभेट कम्पनीले लगानी गरी धितोपत्र बजार सञ्चालन गर्दा बजारको विश्वसनीयता नै कायम हुन नसक्ने रिटमा दाबी गरिएको छ। धितोपत्र व्यवसायीको नियमनको विश्वयापी मान्य सिद्धान्त र अभ्यासविपरीत हुने गरी कुनै पनि व्यावसायिक योग्यताको परीक्षा सञ्चालन विनै धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र हचुवाको भरमा स्वेच्छाचारी ढंगले बाँड्ने बदनियत राखी मूल नियमावलीमा संशोधन गरी नयाँ राखिएको संशोधित नियम ३ को उपनियम (१),(२),(३),(४) र (५) तथा नियम ४(१) मा गरिएका व्यवस्थाहरु मातृ ऐनका रुपमा रहेको धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ५७ को उपदफा २(ग) सँग प्रत्यक्ष बाझिएको हुनाले अमान्य र बदरभागी भएको रिटमा उल्लेख छ। 

सेबोनबाट गत असोज २ गते प्रकाशित धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि सेबानमा निवेदन दिनेसम्बन्धी सार्वजनिक सूचना एवं सोही मितिमा प्रकाशित धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्रका लागि निवेदन दिनेसम्बन्धी सूचना, पत्राचार र प्रत्यर्थीहरुबाट भए गरेका सम्पूर्ण कामकारबाहीसमेत बदर गर्न रिटमा माग गरिएको छ।