– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पदपूर्ति समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्ने सिफारिसविरुद्ध सहकर्मीबाटै उजुरी परेको छ। 

साउन १९ गते सेबोनको पदपूर्ति समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो। कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता र शैक्षिक योग्यतालाई आधार मानी कुल प्राप्तांकका आधारमा समितिले निर्देशक निरञ्जन घिमिरे, अम्बिकाप्रसाद गिरी, नारायणप्रसाद शर्मा र दीपेश ताम्राकारलाई उपकार्यकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस गरेको छ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त नियमावली, २०६८ अनुरूप कर्मचारी बढुवाको दाबीविरोधका लागि ३५ दिनको समयावधि निर्धारण गरिएको छ। विद्यमान व्यवस्थाअनुरुप उक्त अवधिमा कुनै दाबीविरोध नपरेमा पदप्रर्ति समितिले सिफारिस गरिएको मितिबाटै ४ जनालाई नै उपकार्यकारी निर्देशकमा नियुक्तिपत्र दिनुपर्छ। तर, सेबोनका निर्देशक तेजप्रसाद देवकोटाले बढुवासम्बन्धी सिफारिसमा दाबीविरोध प्रस्तुत गर्दै उजुरी दिएका हुन्। 

सेबोन स्रोतका अनुसार देवकोटाले समितिको उक्त सिफारिसमा सेबोन अध्यक्षमार्फत सञ्चालक समितिमा दाबीविरोध प्रस्तुत गर्दै उजुरी दिएका छन्। ‘देवकोटाले आफूलाई चित्त नबुझेका आधारहरु प्रस्टाई सिफारिससम्बन्धी सूची रद्द गरी अर्को सूची प्रकाशनका लागि गत बिहीबार सञ्चालक समितिमा उजुरी दिएका हुन्’, स्रोतले भन्यो।

नेपाल धितोपत्र बोर्ड कर्मचारी सेवा सर्त नियमावली, २०६८ नियम ४४ को उपनियम १ अनुरुप बढुवाको सिफारिसमा चित्त नबुझ्ने उम्मेदवारले सबै आधार उल्लेख गरी नामावली प्रकाशित भएको मितिले ३५ दिनभित्र अध्यक्षमार्फत सञ्चालक समितिसमक्ष उजुर गर्न सकिने उल्लेख छ। उक्त नियमको उपनियम २ मा बोर्डको सञ्चालक समितिले प्रकाशित नामावली संशोधित गर्नुपर्ने कारण देखेमा पदपूर्ति समितिलाई नामावली पुनः प्रकाशनका लागि निर्देशन दिन सक्छ। 

देवकोटा हाल सेबोन टोलीसहित मलेसिया भ्रमणमा छन्। यही कारण उनीसँग सम्पर्क हुन सकेन।