काठमाण्डौ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी बजारको लाइसेन्स नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टीकरण माग गरेको छ। 

निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा नयाँ लाइसेन्सको आवेदन खुला गरेको भन्दै निर्वाचन आयोगले शनिबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ मन्त्रालयलाई पत्र पठाउँदै स्पष्टीकरण माग गरेको हो। निर्वाचन आचारसंहिता लागेको समयमा खुलेको नयाँ लाइसेन्स वितरणको आवेदनका विषयमा चित्ताबुझ्दो जबाफ पठाउन पत्र काटिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। ‘तीन दिनभित्र नयाँ लाइसेन्स वितरणको प्रक्रिया किन नरोक्ने भन्ने सम्बन्धमा चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न ती निकायलाई भनेका छौँ’, उनले बिजशालासँग भने। 

यसैगरी निर्वाचन आयोगले बीमा समितिसँग पनि लघुबीमा कम्पनीको नयाँ लाइसेन्स वितरण प्रक्रियामा स्पष्टीकरण माग गरेको छ। बीमा समितिलाई पनि तीन दिनभित्र चित्तबुझ्दो जबाफ पठाउन आयोगले निर्देशन दिएको छ। 

निर्वाचन आचारसंहिता सुरु भइसकेको नियमविपरीत आवेदन खुलाइएकोले नयाँ लाइसेन्स प्रक्रिया रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो। 

प्रवक्ता पौडेलले नयाँ लाइसेन्स वितरणको प्रक्रिया रोक्ने वा नराक्ने भन्ने कुरा ती निकायको जबाफ आएपछि मात्र थाहा हुने जानकारी दिए।