– रेखा चन्द

काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि गत जेठ २० गतेबाट सुरु भएको आन्दोलन र असार १ गतेबाट तिलक कोइरालाद्वारा थालिएको आमरण अनशन आज टुंगिएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजीबजार सुधार संघर्ष समितिले अघि सारेको १९ बुँदे माग कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सहमत भएपछि आन्दोलनसँगै कोइरालाको अनशन टुंगिएको हो। सहमतिपत्रमा सेबोनका अध्यक्ष रमेशकुमार हमाल र संघर्ष समितिका संयोजक कोइरालाले हस्ताक्षर गरेका छन्। आज कोइरालाको आमरण अनशनको १० औँ दिन थियो।

माग कार्यान्वयन हुने भएपछि अनशनस्थल खुमलटारमा उपस्थित लगानीकर्ताहरु उत्साहित भएका थिए। लगातार घटेको बजार निराश बनेका उनीहरुको मुहारमा चमक देखिन्थ्यो। 

त्यहाँ उपस्थित अधिकांश लगानीकर्ताले यो द्विपक्षी सहमतिबाट सेयर बजार सुधारको बाटोमा जाने विश्वास व्यक्त गरे। कठोर अनशनमा बसेका कोइराला, लगानीकर्ता, सेबोन र पुँजीबजारको ऐतिहासिक जित भएको उनीहरुको ठहर थियो। 

खुमलटारमा खुसियाली मनाउँदै गरेका केही लगानीकर्तालाई सेबोनको प्रतिबद्धता र आन्दोलनको उपलब्धिका विषयमा हामी सोधेका छौँ। उनीहरुको भनाइ जस्ताको तस्तै– 

पवित्रा ज्ञवाली

मलाई खुसी लागेको छ। ५२ लाख लगानीकर्ताको प्रतिनिधित्व गर्दै तिलक कोइराला १० दिनदेखि आमरण अनशनमा हुनुहुन्थ्यो। तर, यत्तिका दिनसम्म आमरण अनशन बस्दा कुनै पनि माग पूरा नभई यत्तिकै जुस खाएर हिँड्न राम्रो नहुनु भएका कारण अस्ति हामीले अस्वीकार गरेका थियौँ। यस्तै हिजो हामीले पत्र पठाउँदा सेबोन अध्यक्ष रमेशकुमार हमाल सहमत नै हुनुभयो। हमालले मिति तोकेर कार्य गरेरै देखाउने प्रतिबद्धता गरेपछि हामी एकदमै खुसी छौँ। उहाँले म कामै गर्न आएको हो र काम गरेर देखाउने बताएपछि आज तिलक कोइरालाको अनशन तोडिएको छ। 

पुँजीबजारका लागि हामी २०६९–७० सालदेखि यही माग लिएर लडिरहेका छौँ। पहिलोपटकका ५८ बुँदे मागमध्ये यी १९ बुँदे कार्यान्वयन हुन बाँकी थियो। तिनै माग अध्यक्ष हमालले मैले सेबोनका तर्फबाट हुने काम समयसीमा तोकेर पूरा गरेरै देखाउँछु भनेर प्रतिबद्धता जनाउनु भएकोमा हामी एकदमै खुसी छौँ। 

सार्थक रायमाझी

मेरा लागि पुँजीबजार भनेको अन्नदाता हो। पुँजीबजारमा आएर कमाइयो पनि गुमाइयो पनि। तर, यहाँ नीतिगत भ्रष्टाचार बढी भयो। नियामक निकाय यति भ्रष्ट छन् कि एउटा नियम ल्याएर बजार माथि लगेर बेच्छन् अनि फेरि बजार झार्छन् र अर्को नियम ल्याएर बढाउँछन्। नीतिगत भ्रष्टाचार चाहिनेभन्दा बढी भयो। योभन्दा अगाडि पनि हामी बजारका लागि धेरै बोल्यौँ। आन्दोलन पनि गयौँ। अनशन पनि बस्यौँ। नियामकले हामी गरिदिन्छौँ भनेर भने तर कहिल्यै माग पूरा गरेन। 

नियाकम नै पैसामा बिकेका छन्। हामीमाथि अत्याचार गरेको भएर तिलक कोइराला आमरण अनशन बस्नुभयो। र, आज सेबोन झुक्न बाध्य भयो। माग कार्यान्वयन गर्ने प्रतिबद्धतासहित अनशन तोडिएको छ। सहमति भएपछि हामी एकदमै खुसी छौँ। 

सुरज खड्का

यो सहमतिपछि आशा जागेको छ। तिलक कोइरालाको जीवनरक्षा गर्न पाउँदा हामी खुसी छौँ। आन्दोलन सफल पार्नका लागि हामी निरन्तर १० दिनसम्म खट्यौँ। नियामकले गर्नुपर्ने काम पनि नगरेको हुनाले हामी बजारलाई चाहिने राम्रो प्रविधि, पूर्वाधार, विस्तारका कार्य गर्नुहोस् भन्नका लागि अनशन बसेका थियौँ। बजार घट्ने–बढ्ने नियम नै हो। अब चाहिँ गर्नुपर्ने कामहरु सेबोनले छिटोभन्दा छिटो कार्यान्वयन गर्दियो भने सबै लगानीकर्ताको विजय हुनेछ। त्यसपछि लगानीकर्ता खुसी पनि हुन्छन्। नेपालको पुँजीबजार साँच्चै सबैले विश्वास गर्न लायक हुनेछ। विदेशमा बस्ने नेपालीले पनि विश्वासका साथ लगानी गर्ने वातावरण बन्छ। 

सेबोनले मात्रै नभएर अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि लगानीकर्ताहरुलाई उत्साहित हुने काम गर्नुपर्छ। 

विष्णुप्रसाद कँडेल (असिम)

पुँजीबजारमा गलत प्रक्रिया, नीतिगत समस्या, कर्नरिङ, राजनीतिक हस्तक्षेपजस्ता अब एकहदसम्म अन्त्य हुने यो सहमतिबाट आश गर्न सकिन्छ। सेबोनलगायत जिम्मेवार निकायहरुले हाम्रा मागलाई उचित हिसाबले कार्यान्वयनमा लैजानेमा हामी विश्वस्त छौँ। विगतमा सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने विभिन्न समस्या थिए। तर, त्यस्ता समस्याहरु अब देखिने छैनन् भन्नेमा आमलगानीकर्ता आशावादी छौँ।