काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैदिन थप ९ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ।

सेबोनले मंगलबार थप ९ वटा ब्रोकर कम्पनीलाई विभिन्न ११ स्थानमा नयाँ शाखा विस्तारका लागि अनुमति दिएको हो। सेबोनले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) लाई पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा खोल्न अनुमति दिएको छ। 

यसैगरी सेक्युर्ड सेक्युरिटिज (ब्रोकर नं. ३६) ले झापाको दमक, त्रिशूल सेक्युरिटिज (ब्रोकर नं. २९) ले नवलपुरको कावासोती, जेएफ सेक्युरिटिज (ब्रोकर नं. १७) ले दाङको तुलसीपुरमा शाखा विस्तारको अनुमति पाएका छन्। 

यस्तै अक्सफोर्ड सेक्युरिटिज (ब्रोकर नं. ५१) नवलपुरको भुमही, दिव्या सेक्युरिटिज एन्ड स्टक हाउस (ब्रोकर नं. ५९) ले पर्वतको कुस्मा, दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं.३८) ले कैलालीको लम्की, डाइनामिक मनी म्यानेजर्स सेक्युरिटिज (ब्रोकर नं.४४) ले चितवनको भरतपुर, मल्ल एन्ड मल्ल स्टक ब्रोकिङ (ब्रोकर नं. ११) ले पाँचथरको फिदिम र इलामको इलाम बजारमा शाखा खोल्न सेबोनको अनुमति पाएका छन्।

सेबोनले यसअघि ४ ब्रोकर कम्पनीलाई ७ ठाउँमामा शाखा खोल्न अन्तिम स्वीकृति दिइसकेको छ।