– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । घोराही सिमेन्टले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ स्थगन गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुसन्धान प्रक्रिया अगाडि बढाएको करिब २ साता हुन लाग्दा पनि वास्तविकता कुरा बाहिरिन सकेको छैन। 

कम्पनीको रेटिङ र ठूलो परिमाणमा फर्जी आवेदन परेसँगै सेबोनले गत असार ६ गते अनुसन्धानका लागि भन्दै घोराही सिमेन्टको आईपीओ स्थगित गरेको थियो। छानबिन गर्न भन्दै सेबोनले वरिष्ठ अधिकारीहरु हुँदाहुँदै कनिष्ठ अधिकारी दिपेश ताम्राकारको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको छ। यो विषयमा स्वयं सेबोनका कर्मचारीहरु नै आश्चर्यचकित छन्। 

अझै घतलाग्दो कुरा त के छ भने यो जाँजबुझ समितिलाई अनुसन्धान प्रतिवेदन कति दिनभित्र बुझाउने भनेर सेबोनले समयसीमासम्म तोकेको छैन। करिब २ साता हुन लाग्दासम्म घोराही सिमेन्ट प्रकरणको अनुसन्धान प्रक्रिया चुपचाप ढंगले अगाडि बढाइनुलाई आमलगानीकर्ताले शंकाको दृष्टिकोणले हेर्न थालेका छन्। 

लगानीकर्ता उपेन्द्र पाठक सेबोन अध्यक्ष रमेशकुमार हमालले साना लगानीकर्तालाई देखाएर घोराही सिमेन्टका सञ्चालकहरु जोगाउन खोजेको आरोप लगाए। ‘घोराही सिमेन्टमा १२ दिनदेखि छानबिन चलिरहेको छ तर फर्जी आवेदन दिने ती १२ जनामाथि छानबिन गर्न नसक्नु अध्यक्ष हमालको गैरजिम्मेवारीपन देखिएको छ’, क्लब हाउसमा पाठकले भने, ‘फर्जी आवेदन भन्ने सीडीएससीले प्रभाणित गरिसकेको छ तर सेबोन उनीहरुलाई जोगाउनतिर लागेको देखिन्छ।’ 

फर्जी आवेदन दिने १२ जनामध्ये पनि २ जना घोराही सिमेन्टका डिलर कम्पनीका कर्मचारीहरु रहेको पाठकको दाबी छ। ‘यदि सेबोनले १२ दिनसम्म ती १२ जनामाथि छानबिन गर्न सक्दैन भने के काम गरेर बसिरहेको छ ?’, प्रश्न गर्दै उनले भने, ‘गत असार ६ गते बनेको छानबिन समिति आजसम्म बेखबर छ । यसमा चुप लागेर बस्नु लगानीकर्ताको पनि कमजोरी देखिन्छ।’

लगानीकर्ता चुप लागेर बसेकै कारणले सेबोन र घोराही सिमेन्टका सञ्चालकहरुमा जे गरे पनि हुन्छ भन्ने मानसिकता देखिएको पाठकले बताए। 

ताम्राकारको नेतृत्वमा बनेको जाँचबुझ समिति नै अधिकारविहीन र देखावटी रहेको पाठकको भनाइ छ। ‘धितोपत्र बोर्डको ऐन २०६४ को दफा १७ अनुसार बनेको भए दोषीलाई पक्राउ गरेर छानबिन गर्न सक्ने अधिकार हुने थियो तर त्यो समिति मौखिक रुपमा मात्रै बनेकोले देखावटी र अध्यक्ष हमालको नौटंकीमात्र हो’, उनले भने, ‘यो सरासर घोराही सिमिन्टका सञ्चालक र कर्मचारी जोगाउने खेलमात्र हो।’

ब्रोकर हाउसमा भेटिएका लगानीकर्ता हरिभक्त श्रेष्ठ घोराही सिमेन्टको आईपीओमा फसेको पैसा फिर्ता गर्ने विषय सेबोन अध्यक्ष हमालको तजबिजमै रहेको बताउँछन्। ‘किनकि सेबोनको सर्वेसर्वा भनेका हमाल नै हुन्’, श्रेष्ठले भने, ‘उनले जे चाहन्छन् सेबोनमा त्यही नै हुन्छ।’

अनुसन्धान प्रक्रिया लम्बिँदै जानुले घोराही सिमेन्टका सञ्चालकहरुलाई जोगाउन खोजिएको प्रस्ट हुने पनि श्रेष्ठको भनाइ छ। ‘यदि ताम्राकार नेतृत्व छानबिन समिति शक्तिशाली हुन्थ्यो भने यो १२ दिनसम्म सबै कुरा बाहिरिसक्थ्यो’, उनले भने, ‘तर, अहिलेसम्म के भयो भन्ने विषयमा कुनै कुरा बाहिरिएको छैन।’

‘बैंक खातामा १ हजार रुपैयाँ नहुनेले कसरी १० लाख कित्ता सेयर खरिदका लागि आवेदन दिने आँट गरे ?’, प्रश्न गर्दै श्रेष्ठले भने, ‘फर्जी आवेदन दिने ती १२ जना कहाँ छन् र उनीहरुमाथि कसरी अनुसन्धान भइरहेको छ ? सबैकुरा सेबोनले हरेक दिन आमलगानीकर्तालाई जानकारी गराउनुपर्छ। होइन भने यो प्रकरणमा सेबोनभित्रका उच्च अधिकारीहरुको पनि मिलेमतो छ भन्ने प्रस्ट हुनेछ।’ 

सेयर बजारका अर्का पुराना लगानीकर्ता रमानन्द प्याकुरेल पनि घोराही सिमेन्ट प्रकरण नेपालको सेयर बजारको इतिहासमा ठूलो काण्ड रहेको बताउँछन्। ‘अहिलेसम्म आईपीओमा यति ठूलो लफडा भएको मैले सुनेको र देखेको छैन’, उनले भने। 

घोराही सिमेन्ट प्रकरणको अनुसन्धान तत्काल पूरा हुने सम्भावना नरहेको भन्दै प्याकुरेलले आमलगानीकर्ताको पैसा तत्काल रिलिज गर्ने वातावरण सेबोनले बनाउनुपर्ने माग गरे। ‘फर्जी आवेदन घटाउने हो यो आईपीओमा ५० प्रतिशतभन्दा कम आवेदन परेको छ, नियमअनुसार ५० प्रतिशतभन्दा कम आवेदन परेको आईपीओ सेबोनले रद्द गर्नुपर्छ’, उनले भने, ‘त्यसैले यो आईपीओ पनि रद्द गरेर तत्काल यो आईपीओमा फसेको आमलगानीकर्ता साढे ४ अर्ब रुपैयाँ बढी रकम रिलिज गर्नुपर्छ।’

घोराही सिमेन्टको आईपीओमा भइरहेको अनुसन्धान प्रक्रिया र लगानीकर्ताका मागका विषयमा जिज्ञासा राख्न पटक–पटक सेबोन अध्यक्षदेखि लिएर प्रवक्ता र सूचना अधिकारीसम्मलाई भेट्न खोज्दा र फोन गर्दा सम्पर्कमा आउन चाहेनन्।