– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिकका साथै दोस्रो बजारमा लाग्ने लागतबारे अध्ययन अघि बढाएको छ। 

सेबोनका उपकार्यकारी निर्देशक कृष्णराज पोख्रेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरी अध्ययन अघि बढाइएको छ। सेबोनले लागतबारे अध्ययन गर्न समिति गठन गरेसँगै ब्रोकर सञ्चालकहरु भने चिन्तित भएका छन्। सेबोन लेविगतमा पनि लागत अध्ययन समिति गठन गर्दा सबैभन्दा पहिला ब्रोकर कमिसन घटाउने गरेकाले बजार सुस्ताएको बेला सेबोनले ब्रोकर कमिसन घटाउने हो कि भन्ने चिन्ता उनीहरुमा छ। 

ब्रोकर सञ्चालकहरु सेबोनले लागतबारे अध्ययन गर्दा आफूहरुसँग छलफल र अध्ययन नगरी निर्णय गर्ने गरेको गुनासो गर्छन्। ‘सेबोनले विगतका दिनमा लागतबारे अध्ययन गर्दा अध्ययन समितिको सबैभन्दा पहिला ब्रोकर कमिसनतिर नजर जान्छ। आफू लोकप्रिय बन्नका लागि सेबोनका अध्यक्ष, कर्मचारी, अध्ययन समितिका साथै लगानीकर्ता संघसंगठनका नेतासम्मको नजर ब्रोकर कमिसनमा नै हुन्छ’, एक ब्रोकर सञ्चालक भन्छन्, ‘तर, सेबोनले निर्णय गर्दा सधैँ एकपक्षीय निर्णय गर्ने गरेको छ। हामीलाई लागतबारे अध्ययन गर्दा समावेश नै गरिँदैन।’

सेबोनले विगतमा पनि आफूले लिने शुल्क यथावत राख्ने अनि सधैँ ब्रोकर कमिसन घटाएर ब्रोकरलाई मर्कामा पार्ने गरेको ती सञ्चालकको आरोप छ। ‘यसपटक पनि सेबोनको उक्त क्रियाकलापले निरन्तरता पाउने पक्का छ’, ती सञ्चालकले भने। 

‘नेपाली पुँजीबजारबारे सबैभन्दा बढी ब्रोकरबाहेक अन्य कसले बुझेको होला ?’ प्रश्न गर्दै अर्का ब्रोकर सञ्चालक भन्छन्, ‘तर, सेबोर्नमा ब्रोकर कमिसनलगायतको लागतबारे अध्ययन गर्दा ब्रोकरहरुलाई कहिल्यै समेटिँदैन। ब्रोकरहरुले तथ्य र लजिकका आधारमा ब्रोकर कमिसन घटाउनु हुँदैन भन्ने तर्क पेस गर्छन् भन्ने डरले सेबोनले हामीलाई उक्त अध्ययनमा समावेश नगरेको हाम्रो बुझाइ छ।’

ब्रोकरहरूले आफ्नो आम्दानी, प्रविधिको खर्च, जनशक्तिलगायतको विषयमा डेटासहित प्रस्तुत हुन्छन् भनेर नै आफूहरुलाई अध्ययन गर्दा समावेश नगरिएको ती सञ्चालले बताए। ‘सेबोनमा जुन अध्यक्ष आए पनि कमिसन घटाउनुअघि सेबोनले ब्रोकरहरुको राय नलिई निर्णय गर्ने गरेको छ’, ती सञ्चालकले भने, ‘सेबोनले हामीलाई नियमन गर्ने निकाय हो। त्यसैले हामीले सेबोनको निर्देशन पालना गर्दै आएका छौँ। तर, ब्रोकरहरु सधैँ चुप बस्छन् भन्ने फाइदा लिएर सेबोनले ब्रोकरसँग छलफल नै नगरी सधैँ निर्णय गर्नु गलत हो।’ 

सेबोनका प्रवक्ता निरज गिरी बोर्डले ब्रोकर कमिसनमात्र नभएर प्राथमिकका साथै दोस्रो बजारमा कारोबार गर्दा लाग्ने सम्पूर्ण किसिमको लागतबारे अध्ययन समिति गठन गरिएको बताए। ‘विभिन्न मिडियामा सेबोनले ब्रोकर कमिसन घटाउन अध्ययन अघि बढाएको भन्ने समाचार आएको छ’, गिरी भन्छन्, ‘तर सेबोनले ब्रोकर कमिसनमात्र अध्ययन गरेको होइन। कारोबार गर्दा सीडीएससी, नेप्सेलगायतमा लाग्ने शुल्क बारे पनि अध्ययन अघि बढाएको हो।’ 

बजारका साथै लगानीकर्तालाई कुन किसिमको राहत दिन सकिन्छ भनेर बजारमा लाग्ने लागतबारे सेबोनले अध्ययन अघि बढाएको गिरीले स्पष्ट पारे।