काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेबोन आइसीटी अपरेसन म्यानुअल,२०२० लागू गरेको छ ।
 
म्यानुयल लागू गरिएसँगै बोर्डबाट धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनु पर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाईन मार्फत पेश गर्न सक्ने गरीे बोर्डबाट गत असोज २३ गतेदेखि सञ्चालनमा ल्याइएको इलेक्ट्रोनिक रिपोर्टिङ्ग एण्ड रिट्राइभल सिस्टम(ईआरआरएस) को प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डले जनाएको छ ।
 
बोर्डले जारी गरेको सेबोन आइसीटी अपरेसन म्यानुअल,२०२०  मा सूचना प्रविधि सम्बन्धी संगठनात्मक व्यवस्था; तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन, सूचना प्रबिधि संजाल पूर्वाधारको व्यवस्था, सूचना प्रबिधि सम्बन्धी अनुसन्धान तथा विकास, बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रबिधि उपकरणहरुको खरिद तथा विकास  गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरन पूर्वको निरीक्षण तथा परीक्षण,हार्डवेयर, पावर तथा इन्जिनको स्तरीय एवम् प्रभावकारी व्यवस्था, सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रबिधि सम्बन्धी तालिम तथा सचेतना अभिवृद्घि लगायतका व्यवस्थाहरु समावेश गरिएको छ ।
 
 
धितोपत्र बजार तथा वस्तु विनियम बजार(बजार) को विकास तथा विस्तारलार्ई व्यवस्थित एवं सुशासित बनाउन र बजार सम्बन्धी गतिविधिहरुमा सूचना प्रविधिको बढ्दो प्रयोगलार्ई सुरक्षित एवं भरपर्दो बनाई समग्र बजारलार्ई पारदर्शी एवं विश्वसनीय बनाउन र बजारमा उपयोग हुने सूचना प्रविधिलार्ई अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अनुकूल बनाउन बजार सम्बन्धी एकीकृत नीतिगत कानुनी, संस्थागत व्यवस्था तथा रणनैतिक उपाय अवलम्बन गर्नका लागि नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ बोर्डबाट गत साउन १ गते देखि लागू गरिएको थियो ।
 
सेबोन आइसीटी अपरेसन म्यानुअल,२०२० कार्यान्वयनमा आए पश्चात बोर्डको आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्घि हुने र सूचना प्रविधिको स्तरीय प्रयोग एवं प्रभावकारी व्यवस्थापनबाट बोर्डको संस्थागत क्षमता अभिवृद्धि भई बजार नियमन तथा सुपरिवेक्षणमा कार्य प्रभावकारी हुने बोर्डको अपेक्षा रहेको छ ।