काठमाण्डौ । कोरोनाको दोस्रो लहरसँगै नेपालमा संक्रमणको आँकडा बढ्दै गएको छ। सरकारले संक्रमण नियन्त्रणका लागि नयाँ आदेशमार्फत विभिन्न प्रतिबन्ध लगाएको छ। 

सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको छ भने सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी उपस्थित नहुन भनिसकेको छ।

यो अवस्थामा नेपाल पुँजी बजारमा कस्तो असर पर्ला भन्ने आमलगानीकर्ताको जिज्ञासा उठ्न थालेको छ। कोरोना संक्रमण दर बढेसँगै पोहोरजस्तै सेयर बजार पुनः बन्द हुने हो कि भन्ने त्रास लगानीकर्तामा देखिएको छ। 

पुँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजार बन्द नहुने बताउँछन्।

‘कोरोनाले सेयर बजारमा खासै असर गर्दैन’, उनले भने, ‘सरकारले प्रतिबन्धहरु लगाए पनि पुँजी बजार निर्वाध रुपमा सञ्चालन हुनेछ।’
अध्यक्ष ढुंगानाले प्रविधिको प्रयोग बढेसँगै घरमै बसेर सेयर बजारमा कारोबार गर्ने वातावरण बनिसकेकोले अब देशमा लकडाउन नै गरिए पनि बजार बन्द नहुने स्पष्ट पारे। ‘बढ्दो संक्रमणबाट सबैजना सचेत हुनैपर्छ, स्वास्थ्य मापदण्डको पालना गर्नैपर्छ’, उनले भने, ‘कोरोना संक्रमणमात्र नभई पुँजी बजारलाई अन्य कुराले पनि असर गर्ने हुँदा लगानीकर्ताले सचेत भएर लगानी गर्नुपर्छ।’

ढुंगानाले अब बजार बन्द भइहाल्छ कि भन्ने लगानीकर्ताहरु डराइहाल्नुपर्ने अवस्था नरहेको बताए। ‘बजार बन्द हुँदैन, ढुक्क भएर कारोबार गर्नुहोस्’, उनले आमलगानीलाई आश्वास्त पार्दै भने।