काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ।
सेबोन सञ्चालक समितिको बैठकले रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष प्रधानमाथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
दुवैले कानुनविपरीत आफू सञ्चालक समितिमा रहेकै अवस्थामा न्यौपाने र प्रधानले सेयर कारोबार गरेको सेबोनले गरेको अनुसन्धानबाट प्रस्ट खुलेको सेबोन अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए। ‘सेबोनको सम्बन्धित विभागीयबाट हदैसम्मको कारबाही गर्ने सिफारिस भएपछि सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले दुवैलाई स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो’, अध्यक्ष हमालले भने, ‘कानुनी प्रक्रियामा जाँदा दोषी ठहरिएकाहरुलाई सफाइ पेस गर्न मौकास्वरुप स्पष्टीकरण सोधिएको हो। उनीहरुको जबाफ जस्तोसुकै आए पनि कारबाही हुन्छ।’
धितोपत्र दर्ता निष्कासन नियमावलीमा कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था छ। प्रधानले कम्पनीको अध्यक्ष पद छाड्नसाथ नियमविपरीत श्रीमती र छोरा छोरीको नाममा रहेको ६ करोड रुपैयाँभन्दा बढी मूल्यको सेयर बिक्री गरेको सेबोनको अनुसन्धानबाट देखिएको छ।
उता रिडी पावरको अध्यक्ष रहँदा न्यौपानेले २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ कित्ता सेयर किनेर ३९ हजार २२३ कित्ता सेयर बेचेको अनुसन्धानबाट फेला परेको छ।
गत वर्ष पुस ६ गते सेबोनको बोर्ड बैठकले न्यौपाने आफैँले र उनको परिवारका सदस्यले उक्त कम्पनीको सेयर दोस्रो बजारमा कानुनविपरीत बेचेको भन्दै कारबाहीका लागि सिफारिस प्रतिवेदन बुझाएको थियो। ‘दुवैलाई धितोपत्र ऐनको दफा १०१ अनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ’, अध्यक्ष हमालले भने।
यस्तो धितोपत्र ऐनमा दण्डसजायको व्यवस्था
धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजाय
९१. भित्री कारोबार: (१) कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आपूmले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आपूmलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिनेछ।
स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्छ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि भित्री कारोबार भएको भन्ने कारणले मात्र भइसकेको कारोबारमा कुनै असर परेको मानिने छैन।
९२. भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति : यस ऐनको प्रयोजनको लागि देहायका व्यक्तिलाई कुनै
संगठित संस्थाले सार्वजनिक नगरेका भित्री सूचना वा जानकारीमा पहुँच भएको व्यक्ति मानिनेछ:–
(क) सो संगठित संस्थाका सञ्चालक, कर्मचारी वा शेयरवालाको हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ख) सो संगठित संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित व्यक्ति वा स्रोतमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क भई कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्ति।
९३. सूचना वा जानकारी सार्वजनिक गरेको मानिने ः देहायका अवस्थामा कुनै पनि सूचना वा जानकारी सार्वजनिक गरेको मानिनेछ:–
(क) धितोपत्र बजारको विनियम बमोजिम कुनै कुरा लगानीकर्ता र उनीहरुको व्यावसायिक सल्लाहकारलाई सूचीत गर्ने उद्देश्यले प्रकाशित गरेको भएमा,
(ख) कुनै अभिलेखमा भएका सूचना वा जानकारीहरु कानून बमोजिम सर्वसाधारणले हेर्न पाउने व्यवस्था भएको भएमा,
(ग) धितोपत्र कारोबार गर्न चाहने कुनै पनि व्यक्तिले थाहा पाउन सक्ने गरी धितोपत्र बजारको कारोबार कक्षमा पुर्याउने व्यवस्था भएको भएमा,
(घ) त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न वा हेर्न, प्रतिलिपि प्राप्त गर्न चाहने व्यक्तिले प्राप्त गर्न, हेर्न सक्ने व्यवस्था भएको भएमा,
(ङ) सर्वसाधारणमध्ये कुनै खास वर्गलाई मात्र सूचीत गरिएको भएमा,
(च) दस्तुर तिरेर मात्र सूचनाको जानकारी प्राप्त गर्ने व्यवस्था भएमा वा नेपाल राज्यबाहिर त्यस्तो सूचना वा जानकारी प्रकाशित भएको भएमा।
९४. झुट्टो कारोबार : यस ऐनको प्रयोजनको लागि देहाय बमोजिमको कुनै कारोबार गरिएमा त्यस्तो कारोबारलाई कृत्रिम वा झुट्टो कारोबार गरेको मानिनेछ :–
(क) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक नपर्ने भएमा,
(ख) अर्कोले खरिद वा बिक्री गर्न प्रस्ताव गरेको मूल्य थाहा पाई सोहीसँग मिल्ने गरी खरिद वा बिक्री गर्ने प्रस्ताव गरेको भएमा।
९५. मूल्यमा उतार चढाव : कसैले हुँदै नभएको वा कृत्रिम वा झुट्टो कारोबार गरी गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा वा बराबर परिवर्तन गराएमा मूल्यको उतार चढाव गराएको मानिनेछ।
९६. धितोपत्र बजारलाई प्रभावित पारेमा : कसैले धितोपत्र कारोबारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आपैmले वा अरुसँग मिली देहायका कुनै काम गरेमा धितोपत्र बजारलाई प्रभावित गरेको मानिनेछ:-
(क) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य बढाउने,
(ख) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्य घटाउने,
(ग) कसैलाई धितोपत्र किन्न वा बेच्न उत्साहित गराउने उद्देश्यले वा धितोपत्र खरिद वा बिक्री नगरोस् भन्ने उद्देश्यले कुनै कम्पनीले जारी गरेको धितोपत्रको बजार मूल्यलाई स्थिर बनाउने।
९७. झुक्याउने विवरणहरु दिने : कसैले कसैलाई धितोपत्र खरिद बिक्री गर्न उक्साउने उद्देश्यले देहायका काम गरेमा झुक्याउने काम गरेको मानिनेछ :–
(क) झुट्टो, भ्रामक वा गलत हो भनी जानीजानी कुनै विवरण वा पूर्व अनुमानसम्बन्धी विवरण बनाउने वा प्रकाशित गर्ने,
(ख) बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने,
(ग) बदनीयत साथ झुट्टा वा भ्रामक विवरण, प्रतिज्ञा वा पूर्व अनुमान बनाउने वा प्रकाशित गर्ने।
९८. जालसाजीयुक्त कारोबार : कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई देहायका कारोबार गरेमा जालसाजी गरेको मानिनेछ :–
(क) कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा, वा
(ख) कसैलाई झुक्यानमा पारी कुनै काम गराएमा वा काममा लगाएमा।
९९. जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने : कुनै विवरण झुट्टो वा भ्रामक हो भन्ने थाहा हुँदाहुँदै वा विवरणमा कुनै कुरा छुटेको, लुकाइएको वा नपरेको कारणले त्यस्तो विवरण गलत वा भ्रामक भएको छ भन्ने जानीजानी त्यस्तो विवरणको आधारमा कसैलाई धितोपत्र खरिद वा बिक्री गर्न उत्साहित गरेमा वा धितोपत्रको मूल्य घटाउन, बढाउन वा स्थिर राख्न लगाएमा त्यस्तो काम कारबाही गर्ने गराउनेले जालसाजी गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेको मानिनेछ।
१००. लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा : कसैले दफा ८५ बमोजिम निरीक्षण तथा जाँचबुझको सिलसिलामा बोर्ड वा बोर्डद्वारा अधिकार प्राप्त अधिकारीले मागेको कुनै लिखत, विवरण वा अभिलेख वा दफा १०३ बमोजिम तहकिकात गर्न तोकिएको अधिकारीले तहकिकातको सिलसिलामा मागेको कुनै लिखत, विवरण वा अभिलेख वा यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम तथा विनियम बमोजिम आपूmले राख्नु पर्ने लिखत, विवरण वा अभिलेख नष्ट गर्न, झुट्टो बनाउन, लुकाउन वा त्यस्तो कार्य गर्नमा मद्दत पुर्याउन हुँदैन।
१०१. दण्ड सजाय : (१) दफा ९१ बमोजिम भित्री कारोबार गर्नेलाई भित्री कारोबार गरेको ठहरेमा बिगोबमोजिम जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
(२) दफा ९४, ९५ र ९६ बमोजिमको कुनै काम गर्नेलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनुपर्नेछ।
(३) दफा ९७, ९८, ९९ र १०० बमोजिमको कुनै काम गर्नेलाई एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ र त्यस्तो कारोबारबाट कसैलाई हानि नोक्सानी भएको रहेछ भने त्यस्तो हानि नोक्सानी समेत भराई दिनु पर्नेछ।
(४) कसैले जानीजानी वा बदनीयत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नु पर्ने हिसाब किताब, खाता, विवरण, प्रतिवेदन, सूचना, जानकारी वा यस्तै अन्य कुनै कागजात सो राख्नु, बनाउनु, तयार गर्नु वा पेश गर्नुपर्ने समयमा पेश नगरेमा, नराखेमा वा नबनाएमा वा तयार नगरेमा वा झुट्टा विवरण वा कागजात बनाएमा वा राखेमा, तयार गरेमा त्यस्तो गर्नेलाइ बोर्डले पचास हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।
(५) कसैले जानीजानी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम वा यस ऐन अन्तर्गत जारी गरिएको आदेश वा निर्देशनको बर्खिलाप काम गरी कुनै संगठित संस्था, धितोपत्र बजार, धितोपत्र व्यवसायी वा लगानीकर्तालाई हानि नोक्सानी गरे गराएमा बोर्डले त्यस्तो व्यक्तिलाई पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ। त्यस्तो काम कारबाहीबाट कसैलाई कुनै हानि नोक्सानी पुग्न गएको भए सो बापत बोर्डले वास्तविक हानि नोक्सानीको क्षतिपूर्ति समेत भराई दिन सक्नेछ।
(६) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई धितोपत्र निष्काशन गरेमा, धितोपत्र बजार वा धितोपत्र व्यवसायीको हैसियतले धितोपत्र कारोबार सञ्चालन गरे गराएमा त्यस्तो काम गर्ने गराउने व्यक्तिलाई बोर्डले पचास हजार रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।
(७) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नुपर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले पच्चीस हजार रुपैयाँदेखि पचहत्तर हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago