काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले फेरि एकपटक सेयर बजारमा धेरै लगानी गर्नु अर्थहीन हुने दाबी गरेका छन् । 

बीबीसी नेपाली सेवालाई अन्तर्वार्ता दिंदै उनले घरजग्गा, सेयर मार्केट र अटोमोवाइलमा लगानी गर्नु अनुत्पादक रहेको दाबी गर्दै यस्ता क्षेत्रमा गरिएको लगानी अर्थहीन हुने टिप्पणी गरेका हुन् ।

बैंकहरुमा तरलताको समस्या कचल्टिरहेको बिषयमा गरिएको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. खतिवडाले आन्तरिक पूँजीले मात्रै बचत निक्षेप अलि बढी परिचालन गरेर या रेमिटेन्स अलि बढी ल्याएर मात्रै नपुग्ने, बरु अन्तर्राष्ट्रिय बजारबाट पनि पूँजी विस्तारै प्रवेश गराएर यो समस्या समाधान गर्न सकिने धारणा व्यक्त गरे । त्यसैमा उनले थपेका छन्–‘दोस्रो कुरा चाँही जति पूँजी हामी त्यसरी परिचालन गर्छौं, त्यो फेरी उही घरजग्गा, शेयर मार्केटमा र त्यही अटोमोबाइलमा र त्यही उपभोक्तामा लगानी गर्यौ भने त्यसको केही पनि अर्थ रहँदैन।’

उनले कर्जाको आकार बढाई कर्जाको गुणात्मक पक्षलाई ध्यानमा दिने र प्राथमिकतामा राखेको उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनेतर्फ लागेर लगानीयोग्य पूँजीको अभावको समस्या चाँडै समाधान गर्न सकिने बताएका छन् । यसरी उनले फेरि एकपटक प्रष्ट रुपमा सेयर बजार, अटोमोवाइल, घरजग्गालाई ‘अनुत्पादक क्षेत्र’ भनिदिएका छन् । 

‘हामीले राष्ट्रको सीमित साधन सबैभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ र त्यसले आय र रोजगारी बढाओस्।’ उनले भनेका छन्–‘अथवा १० रुपैयाँ खर्च गर्दाखेरि १२,१३,१४,१५ रुपैयाँ आम्दानी नहुने क्षेत्रमा चाँही हामीले लगानी बढाउनुहुन्न भन्ने मान्यता हो।’

तरलता समस्या
उनले सरकारले बेलैमा विवेक पुर्याएर बैंकहरुलाई दवाबमा नपारेको भए अहिलेको तरलता अभावको समस्या नआउने ठोकुवा समेत गरेका छन् । ‘यो समस्या चाँही हामीले गिजोलेका हौं। अघिल्लो वर्षनै हामीले पूँजी वृद्धिको परिणाम स्वरुप अत्यन्त धेरै कर्जा प्रवाह गर्नुपर्यो बैंकहरुले। ३०–३१ प्रतिशतले कर्जा प्रवाह वृद्धि गर्नुभयो। र, पोहोर साल नै ठूलठूलो आयोजनाहरुमा कर्जाको प्रतिवद्धता बढ्यो । अहिले कर्जा दिन नसक्ने अवस्थामा उहाँहरु(बैंकहरु) पुग्नुभएको छ।’ अन्तर्वार्तामा उनले भने–‘त्यसो हुनाले हामीले अलिकति विवेक पुर्याएर बैंकहरुलाई दबाबमा नपारेको भए यो समस्या आउने थिएन।’

सामाजिक सुरक्षा
अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षामा गरिने खर्च भनेको अनावश्यक र अनुत्पादक नरहेको प्रष्ट्याउँदै राज्यले धान्न सके सबै नागरिकलाई सार्वकालिक सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्ने धारणा पेश गरेका छन् । ‘बालक,वृद्ध,अपाङता भएका व्यक्तिहरु,रोजगारीबाट वाहिर बसेका व्यक्तिहरु,राज्यले संरक्षण दिनुपर्ने व्यक्तिहरु सामाजिक सुरक्षाको दायरमा आउनुपर्छ।’ उनले थपेका छन्–‘हाम्रा छिमेकी मुलुक मात्रै होइन यूरोपेली र अमेरिकी मुलुकहरुमा पनि सार्वकालिक सामाजिक सुरक्षा दिनुपर्छ भनेर सबै जान थालेका छन्। हामी सामाजिक सुरक्षालाई योगदानमा आधारित बनाउँछौं। र,सामाजिक सुरक्षालाई मुलुकको राजश्वले धान्ने तहमा मात्रै हामी अगाडी बढ्छौं।’

यही साता बजेटको अर्धवार्षिक समीक्षा
अर्थमन्त्री खतिवडाले यो हप्ताको अन्तसम्म सरकारले बजेटको अर्धवार्षिक समीक्षाको काम सक्ने समेत जानकारी दिएका छन् । 

‘अर्धवार्षिक समिक्षामा हामी कहाँ छौं भन्ने स्पस्ट हुन्छ।त्यो हामी कहाँ छौ भन्ने भएपछि आगामी मार्ग निर्दिष्ट त्यसले गर्छ।’ उनले भनेका छन्–‘त्यस अनुसार आगामी आर्थिक वर्षको तयारी गर्छौं। अबको लगभग तीन महिनामा बजेट पेश गर्नुपर्नेछ।’

अनुशासित आर्थिक संरचना
दूरदृष्टिको अभावका कारण मुलुकमा वित्तीय अराजकता निम्तिएको दाबी गर्दै खतिवडाले चाँडै नै स्थिर, अनुशासित र अग्रगामी आर्थिक संरचना तयार गरिने बताएका छन् । 

उनले भन्सारमा कारोबार मूल्यलाई प्रतिविम्वित गरेर भन्सार कटाउने, भन्सारको कोड फरक पारेर र विवरण फरक पारेर, परिमाण फरक पारेर, मूल्य फरक पारेर कुनै पनि बहानामा कुनै कर्मचारीले तलमाथि गर्न खोज्यो भने कारवाहीको दायरामा ल्याइने समेत स्पष्ट पारेका छन् । ‘आज हामीले मातहतका निकायहरुलाई निर्देशन नै जारी गरिसकेका छौं र त्यसको अनुगमन पनि हुन्छ।’ उनले भने ।