– भक्तराज रसाइली

काठमाण्डौ । नेपालको सेयरबजारको इतिहासमा प्रविधि परिवर्तन भएपछि नेप्से सूचकांकमा सकारात्मक तरंग हुँदै आइरहेको सर्वविदितै छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सञ्चालमा ल्याएको अनलाइन प्रणालीले सेयर खरिदबिक्री सहजीकरणसँगै नेप्से सूचकांकमा समेत बढोत्तरीको आशा आमलगानीकर्ताले राख्दै आएका थिए तर अनलाइन प्रणाली भित्रिएको लगभग एक वर्ष बितिसक्दासमेत अनलाइन प्रणालीको विश्वसनीयता भने बढाउन असफल भएको ब्रोकर र लगानीकर्ताहरुको आरोप छ ।

नेपाल अधिराज्यभर ब्रोकर कम्पनीका ४७ शाखाहरुबाट धितोपत्र खरिदबिक्री हुँदै आएको छ । धरानलाई पूर्वकै सेयर हब मानिन्छ । रेमिट्यान्स भित्रायाउने मुलुकका मुख्य १० सहरभित्रै पर्ने धरानमा रेमिट्यान्स रकमसमेत सेयरबजारमा आउने क्रम छ ।

धरानमा दुईवटा ब्रोकर कम्पनीका शाखा कार्यालयबाट ब्रोकरेज सेवा दिँदै आएकोले विशेषगरी मोफसलका सेयर लगानीकर्तालाई कारोबार गर्ने अभिप्रायका लागि ब्रोकर कार्यालय नपुगेको ठाउँबाट समेत र विश्वको जुनसुकै स्थानबाट सेयर कारोबार गर्न अनलाइन प्रणाली भित्रिएको छ ।

अनलाइन प्रणाली भित्रिएको एक वर्षमा मोफसलमा यसको क्रेज कस्तो छ र यसलाई थप प्रभावकारी बनाउन नियामकलाई पृष्ठपोषण होस् भन्ने हेतूले हामीले पूर्वकै सेयर कारोबार हब मानिँदै आइरहेको धरानमा रहेका ब्रोकरका शाखा कार्यालयहरुबाट अप्रत्यक्ष लगानीकर्ताहरुको विचार जान्ने प्रयास गरेका छौं ।

धरान २ मा अवस्थित ब्रोकर नम्बर १७ अर्थात एबीसी सेक्युरिटिज प्रालिका शाखा प्रबन्धक योगेश अग्रवालले हाँकिरहेका छन् । २०७० सालबाट ब्रोकर नम्बर १७ ले दुर्गम कार्य क्षेत्रअन्तर्गत ब्रोकरेज सेवा दिँदै आएको छ। एबीसीले कुल २२५ अनलाइन युजर लगइन बाँडेकामध्ये धरानबाट अनलाइन कारोबार गर्नैका लागि करिब १० जनाले मात्रै अनलाइन युजर लिएको कम्पनीले जनाएको छ । ‘सेयर ब्रोकर हौं’ भन्दै बाहिर मार्केटिङमा जान प्रतिबन्ध भएकाले अप्ठ्यारो परेको अग्रवालको गुनासो छ। अनलाइन लिएकाहरुले नै फुलफेजको अनलाइन नभएको भन्दै कार्यालयमा गुनासो गरेको उनको दाबीसमेत छ। ‘अनलाइनभन्दा फोनबाट नै कारोबार गर्न सहज मानिरहेका छन्’, अग्रवालले बिजशालासँग भने, ‘राम्रोसँग ब्रोकर कार्यालयको बोर्ड राख्ने व्यवस्था पनि नभएकाले पब्लिकसम्म जानकारी पुर्याउन असमर्थ भइरहेका छौं ।’

सेयरबजारका विषयमा तालिम दिने प्रोफेसनल संस्थाहरु समेत सहर केन्द्रित भइदिँदा सचेतनाको अभाव रहेको अग्रवालको ठम्याइ छ । उनी भन्छन्, ‘अहिलेको अनलाइन अलिक प्रयोगमैत्री पनि छैन ।’

अग्रवालको ब्रोकर शाखामा २५ सय हाराहारीमा केवाईसी खाता अपडेट गरिएकामा धरानका छिमेकी जिल्लाहरुबाट आउने लगानीकर्ताको संख्या कमै छ । अहिलेचाहिँ सेयर कारोबारीको मनोविज्ञान खस्केर सक्रियता घटेको अग्रवालको भनाइ छ। दैनिक २–४ जना नयाँ अनुहार लिएर उनको ब्रोकरेज हाउसमा सेयर लगानीका विषयमा बुझ्न आउने क्रम भने रहेको उनले बताए ।

कोरिया, अबुधावी, अस्ट्रेलियालगायत विदेश बस्दै आइरहेका व्यक्तिले आफ्ना श्रीमती र छोराछोरी सेयर कारोबार गर्न पठाइएको पाइयो । सेयर खरिदबिक्रीको निर्णय भने श्रीमानले नै गर्ने गरेको अग्रवाल सुनाउँछन् ।

त्यस्तै धरान–१२ कलेजरोडमा रहेको ब्रोकर नम्बर ४९ अर्थात अनलाइन सेक्युरिटिज प्रालिमा सुजन निरौला शाखा प्रमुखमा कार्यरत छन् । अनलाइन सेक्युरिटिजले धरानमा २०७४ साल वैशाखबाट ब्रोकरेज सेवा प्रदान गर्दै आएको बताएको छ ।

यो ब्रोकर कम्पनीले नौ सय बढी अनलाइन युजर बाँडेकामध्ये धरानबाट मात्रै करिब ५० वटामात्रै छन् । नेप्सेले भित्र्याएको अनलाइन प्रणालीका विषयमा सोधपुछ गर्न अनि जिज्ञासा लिने बढ्दै गरेको शाखा प्रमुख निरौला सुनाउँछन् । अनलाइन कारोबारका विषयमा यद्यपि धेरै लगानीकर्ता द्विविधामा परेको उनले बताए ।

नियामक निकायले मोफसलमा रहेका ब्रोकर शाखाहरुसँग समन्वय र सहकार्य गरे द्विविधा हटाउन अनि अनलाइन कारोबारको चेतना फैलाउन निरौला जोड दिन्छन्। धरान शाखामा तीन हजार हाराहारीमा केवाईसी अपडेट रहेकामा धरानआसपासका मानिस सोधखोज गर्दै आउने गरेको उनको भनाइ छ । आईपीओ हाल्ने क्रेजसँगसँगै अनलाइन मिडियाहरूले पनि सेयर कारोबारका विषयमा चासो बढाइरहेको र यसले समेत लगानीकर्ता क्रमिक रुपमा बढ्ने क्रम जारी रहेको निरौला सुनाउँछन् ।

विभिन्न हाइड्रोपावरका सेयर र सन्चयकोष, नागरिक लगानी कोष् लगायत संस्थामा कार्यरत वा आबद्ध कर्मचारीलाई आईपीओमा दिएको विशेष सुविधाकै कारण   सेयरबजारमा आउनलाई थप प्रेरित गरिरहेको उनको दाबीसमेत छ। सेयर कारोबारमा कनेक्ट आईपीएस र बैंक ट्रान्सफर सुविधासँगै ईमेल र अनलाइनबाट कारोबार गर्ने संख्या बढ्दै गएको उनले बताए ।

वैदेशिक रोजगारीबाट आएका र धरान आसपासका क्षेत्रबाट चासो र जिज्ञासा लिई उत्सुकतापूर्वक सेयर कारोबारबारे बुझ्न आउने गरेको निरौलाको भनाइ छ ।